१८ जेठ, इस्लामावाद । पाकिस्तानमा त्यहाँको सेनाले आतङ्कवादका विरूद्धमा भन्दै जारी राखेको कारबाहीका क्रममा कम्तीमा पनि २३ जना सशस्त्र हतियारधारीको मारिएको समाचार छ ।

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र कुराममा गरिएको सो कारबाहीमा शुक्रबार रातिमात्र ती हतियारधारीको ज्यान गएको समाचारमा जनाइएको छ ।

पाकिस्तानको राष्ट्रिय सैनिकले सो क्षेत्रमा सुरु गरेको कारबाहीका क्रममा सैनिकसँग राति दोहोरो भिडन्त भएको पनि समाचारमा जनाइएको छ ।

सो भिडन्तका क्रममा दुई जना सेना पनि मारिएको बताइएको छ । सो कारबाहीमा परी थप पाँच सैनिक घाइते भएका छन् । उक्त कारबाही रातभर चलेको बताइएको छ ।

अफगानिस्तानको सीमाना नजिक रहेको सो क्षेत्रमा हतियारधारी आतङ्ककारीहरु रहेको सुराकीका आधारमा सैनिकले गएको रातिदेखि सो कारबाही थालेको हो ।

सो कुराम क्षेत्रमा सैनिकले विगतमा पनि कारबाही गर्ने गरेको छ । गत बिहीबार पनि पाकिस्तानी सेनाको एक विशेष टोलीले गरेको खोजीका क्रममा १९ जना हतियारधारी सशस्त्र व्यक्ति मारिएका थिए ।

उक्त क्षेत्रका स्थानीय सञ्चारमाध्यमहरुले सो कारबाहीका क्रममा आतङ्ककारीका कम्तीमा पनि चारवटा आश्रयस्थल भत्काएको पनि बताएका छन् । रासस/एएफपी