Agni Spkta२८ वैशाख,काठमाडौँ । एकीकृत नेकपा(माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लोकमानको नियुक्ति गलत भए भोलि व्यवस्थापिका–संसदको दुईतिहाई मतद्धारा महाअभियोग लगाएर हटाउन सकिने बताएका छन्। 

“हिजो रुक्माङ्गत कटुवाललाई कारबाही गर्न हुँदैन भनेर कोहोलो मच्चाउनेहरू नै यतिखेर लोकमान प्रकरणमा सडकमा आएका छन् उनीहरू मुलुकलाई अस्थिरतामा धकेल्न चाहन्छन् भन्ने घटनाक्रमले पुष्टि गरेको छ ।” सापकोटाले भने ।

संविधानसभाको नयाँ निर्वाचनको मिति तत्काल घोषणा गरिए मुलुकमा नयाँ राजनीतिक माहोलको सिर्जना हुने उनले बताए।

एमाओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित प्रवक्ता–सञ्चारकर्मी नियमित भेटका क्रममा उनले सरकारले तत्काल मिति घोषणा गरे राजनीतिक रुपमा नयाँ उभार सृष्टि हुने र नेपाली जनतामा नयाँ आशाको सञ्चार हुने बताए ।

प्रमुख राजनीतिक दलहरूबीच संविधानसभाको निर्वाचन पूरानै विधि र प्रक्रियाअनुसार गर्ने भन्ने विषयमा लगभग सहमति भएको बताउँदै प्रवक्ता सापकोटाले सामान्य प्राविधिक विषयलाई तन्काएर वातावरण विगार्ने काम कोही कसैबाट पनि हुन नहुने बताए ।

संविधानसभाको निर्वाचन नियमित व्यवस्थापिका–संसदको निर्वाचन जस्तो नभएको भन्दै उहाँले सबै वर्ग, तह र तप्काको उचित प्रतिनिधित्वका लागि पनि कुनै ‘थ्रेसहोल्ड’ राख्न नहुनेमा आफ्नो पार्टी प्रतिबद्ध भएको बताए ।

‘निश्चित मत ल्याउने सबैलाई संविधानसभामा प्रतिनिधित्व गराउनुपर्दछ, कुनै पनि छेकेवार राखिनु हुँदैन, संविधानसभा भनेको राष्ट्रिय एकताको प्रतिनिधित्व गराउने ठाँउ समेत हो, त्यसलाई ख्याल गरिनुपर्दछ भन्नेमा सबै राजनीतिक दल प्रतिबद्ध रहनु पर्दछ, हाम्रो पार्टी एमाओवादी त्यसका पूर्ण प्रतिबद्ध मात्रै होइन, पूर्ण रुपमा इमान्दार समेत छ ।’प्रवक्ता सापकोटाले भने ।

सडकमा कराएको भरमा वर्तमान सरकारलाई पनि हटाउन नसकिने र विकल्प पनि खोज्न नसकिने उल्लेख गर्दै उनले राष्ट्रपति डा रामवरण यादवले गत चैत १ गते जारी गरेको २५ बुँदे बाधा अड्काउ फुकाउ र प्रमुख दलहरूबीच भएको ११ बुँदे सहमति समेत खारेज नहुने स्पष्ट पारे ।

“मुलुकलाई अराजकतामा धकेल्ने प्रस्तावलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन, वर्तमान सरकार निर्वाचन प्रयोजनका लागि गठन भएको हो, सो कार्यादेशलाई पूरा गराउन हामी सबैको सहयोग आवश्यक रहन्छ, तर त्यसका लागि सरकारले तत्काल निर्वाचनको मिति भने घोषणा गर्नुपर्दछ” ’प्रवक्ता सापकोटाको भनाइ थियो ।

राजनीतिक वातावरण विगार्न र निर्वाचनको माहोललाई अन्यत्र केन्द्रित गर्न पछिल्लो दिनमा लोकमानको प्रकरण उचालिएको प्रसङ्ग जोड्दै उनले सकारात्मक नारा लगाएर नकारात्मक उद्देश्य पूरा गर्न लागिपरेकाले जनताको भावनालाई बुझ्न नसक्ने र त्यो फगत आत्मरतिका लागि मात्रै हुने बताए ।

अन्तरिम चुनावी परिषदका अध्यक्षले हिजो आयोजना गरेको सर्वपक्षीय छलफलमा आगामी दश दिनभित्र निर्वाचनको मिति घोषणा गरिने कुरा आएको बताउँदै प्रवक्ता सापकोटाले आफ्नो पार्टीले दश दिन होइन, सात दिनभित्रै मिति घोषणा गर्न आग्रह गरेको जानकारी दिए ।

निर्वाचनको विरोधमा रहेका सम्पूर्ण राजनीतिक दल र समूहलाई प्रक्रियामा लैजानका लागि प्रमुख राजनीतिक दल र सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सम्बोधन गर्न सकिने जति माग उच्चस्तरीय राजनीतिक समिति र सरकारले पूरा गर्ने समेत बताए।

‘विरोधका लागि विरोध गर्नेहरू त आफैँ पाखा लागि हाल्छन् अरुलाई भने समेटेर लैजान सरकार र राजनीतिक दल प्रतिबद्ध रहनु पर्दछ यसो हुन सके निर्वाचनको माहोल पनि बन्छ ।’ प्रवक्ता सापकोटाले थपे ।