Teenage-schoolgirlsयद्यपि यो सर्वेक्षण बेलायतमा गरिएको हो, तथापि परिणाम आश्चर्य चकित पार्ने खालको लाग्न सक्छ । त्यहाँका हरेक चार युवतीमध्ये एक जनाले १६ वर्ष नपुग्दै र कलेजमा छिर्न बित्तिकै शारीरिक सम्बन्ध बनाइसकेकी हुन्छिन् । बेलायतमा यौनका लागि वैधानिक उमेर १६ वर्ष हो ।

त्यो सर्वेक्षणमा १६ वर्षदेखि २४ वर्षसम्मका युवतीमध्ये २७ प्रतिशतले स्वीकार गरेका थिए- उनीहरूले १६ वर्ष अगावै यौनसम्पर्क राखिसकेका थिए । युवामा भने यो अनुपात अलि कम देखियो । हरेक पाँचमध्ये एक जनाले कम उमेरमा शारीरिक सम्बन्ध बनाएको कुरा स्वीकार गरेका थिए ।

त्यो स्वास्थ्य सर्वेक्षण प्रतिवेदन अनुसार, बेलायतमा युवतीमा वैधानिक सीमाभन्दा अघि नै यौनसम्बन्ध राख्ने मामिलामा बृद्धी भएको छ । सर्वेक्षणमा १६ वर्षदेखि २४ वर्षसम्मका युवायुवतीमध्ये १० जनामा एक जनाले बताएका थिए- उनीहरूका १० वा तीभन्दा बढी यौनसाथी छन् । प्रतिवेदनले बेलायतमा बढ्दो ‘पोर्न कल्चर’ यसमा जिम्मेवार रहेको उल्लेख गरेको छ ।

किशोरावस्थाको यौनसम्पर्क र सम्बन्धविच्छेद
नयाँ अध्ययन अनुसार, जुन महिलाले किशोरावस्थादेखि यौनसम्बन्ध राख्न सुरु गरेका हुन्छन्, तिनको वैवाहिक सम्बन्धविच्छेद हुने सम्भावना बढी हुन्छ । युनिभर्सिटी अफ आयोभाका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययनमा किशोरावस्थाको सहवास र सम्बन्धविच्छेद बीचको सम्बन्ध पहिल्याउने प्रयास गरिएको थियो । यसको प्रतिवेदन जर्नल अफ म्यारिज एन्ड फयामिलीमा प्रकाशित छ ।

यस बारेको सर्वेक्षणमा अनुसन्धाताहरूले किशोरावस्थामा यौनसम्बन्ध राखेका ३१ प्रतिशत महिलाले बिहेको पाँच वर्षभित्र सम्बन्धविच्छेद गरेको पाइयो । यसैगरी, किशोर उमेरमै शारीरिक सम्पर्क राखेका ४७ प्रतिशत महिलाले वैवाहिक सम्बन्धलाई १० वर्षभित्र तोडेको देखियो । अर्थात्, किशोरावस्थामा यौनसम्बन्ध राख्ने करिब आधा महिलाहरूको वैवाहिक जीवन सुखद् रहेन । बिछोडमा टुंगियो ।

उक्त अध्ययनमा महत्त्वपूर्ण तथ्य के देखियो भने, वयस्क हुन्जेल यौनसम्बन्ध राख्नका लागि प्रतिक्षारत रहेका अर्थात् किशोरावस्थामा यौनसम्बन्ध नराखेका महिलाको सम्बन्धविच्छेद गर्ने अनुपात निकै कम पाइयो । यस्ता १५ प्रतिशत महिला वैवाहिक सम्बन्ध गाँसेको पाँच वर्षमा र २७ प्रतिशत महिला दाम्पत्य जीवन सुरुवातको १० वर्षमा पतिसँग अलग भएका थिए ।

यो सर्वेक्षण नेसनल सर्भे अफ फयामिली ग्रोथ अन्तर्गत गरिएको थियो, जसमा जीवनको कुनै पनि उमेरमा बिहे गरेका ३ हजार ७ सय ९३ महिलामा सहभागी थिए । अध्ययन अनुसार, किशोरावस्थामा यौनसम्बन्धका कारण वैवाहिक जीवन चाँडो टुट्नुको एउटा कारण सम्भावना यो पनि हुन्छ- कम उमेरमै यौनानुभव लिएका महिलामा यस्तो मान्यता वा सोचले डेरा जमाउन थाल्छ, जसले गर्दा उनीहरू सम्बन्धविच्छेदप्रति उत्सुक भइरहन्छन् ।