Couple-in-conflictदाम्पत्य जीवनलाई सफल र सुखी राख्नका लागी महिला र पुरूषबिच समझदारी हुन जरूरी हुन्छ । दुवैबीच प्रेम, विश्वास र सहयोगको भावना नभए‍सम्म दाम्पत्य जीवन सुखी र सफल बनाउन निकै कठिन हुन्छ । साथै एक-अर्काको भावना बुझेर अगाडि बढ्न सके कुनै पनि महिला र पुरूषको जीवन सुखमय हुन सक्छ ।

 

 

महिला र पुरूषको केही आनीबानीले गर्दा दाम्पत्य जीवनमा असर पर्न सक्छ । यस्ता बानीव्यवहारलाई आवश्यकता अनुसार परिवर्तन गर्ने र ती बानी व्यवहारलाई बुझेर दुवै समझदारीमा हिड्न सके सहजै यस्ता समस्याबाट मुक्त पाउन सकिन्छ । पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनाव तथा कलहको स्थिति आउने र दुईबीचको सम्बन्ध राम्रो नहुने समस्या पनि आउने गर्छ । महिलालाई पुरूषका केहि व्यवहारले निकै रिस उठाउँछ ।

 

ती व्यवहार के के हुन् त…

१. महिलाले आफूसँग रहँदा आफ्नो साथी आफूसँग मात्र भुलोस् भन्ने चाहना राख्छिन् । त्यसैले सँगै रहँदा पुरूषले फोनबाट अरूलाई सन्देश पठाउने फोन गर्ने तथा अन्य अफिसका काम गर्ने गरे महिलालाई रिस उठ्छ । यसकालागि पुरूषले सकेसम्म आफ्नो पार्टनरलाई समय दिने र आफ्ना कामलाई सकेसम्म पार्टनरको साथमा रहँदा नगर्ने यदी गर्नै परे त्यसकालागि पार्टनरलाई आफ्नो कामको आवश्यकताबारे जानकारी दिएर गर्ने गरे पार्टनरबाट पनि साथ पाउन सकिन्छ ।

 

२. महिलाले सोधेका प्रश्नहरूलाई वास्ता नगर्ने वा त्यसको उत्तर नदिने या त्यसतिर ध्यान नदिने र मलाई थाहा छैन भन्ने गरेमा पनि महिला रिसाउने गर्छन् । उनीहरुले पुरूषसँग केही सल्लाह लिन खोज्दा मलाई मतलब छैन जे सुकै गर भन्ने जवाफ आएमा महिलालाई थप तनाव पिडा र रिस उठ्छ ।

 

३. दिनभरी काम गरेर घर फर्केपछी पुरूषहरू प्राय चुप लागेर बस्ने गर्छन् तर यो बानी महिलालाई फिटिक्कै मन पर्दैन । उनीहरू घर फर्केपछी कुरा गरून् आफूसँग बसोस् भन्ने चाहना राख्ने हुँदा त्यसो नगर्दा उनीहरूलाई रिस उठ्नु स्वभविक हो ।

 

४. कतै जानु परे या खाना खान बाहिर निस्किनु पर्ने भएमा पुरूषहरू चाडै तयार हुन्छन् तर महिलालाई तयार हुन थोरै समय बढी लाग्ने गर्छ । यस्तो अवस्थामा पुरूषहरूले महिलालाई चाडो गर भनेर बारम्बार भनिरहँदा पनि महिलालाई रिस उठ्छ ।

 

यस्ता सामान्य कुराले पनि परिवारमा तथा दाम्पत्य जीवनमा समस्या आउन सक्छ । यी सानातिना कुरालाई विचार गर्न सके दाम्पत्य जीवन सुखमय हुन सक्छ । महिलाले रिसाउने आफ्ना बानी हटाउन प्रयास गर्ने र महिलाले पनि पुरूषको यी बानीलाई सहजतापूर्वक लिन सके दुईबीच समस्या आउँदैन ।