१६ मंसिर, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको सरकारले विकासको गति लिने बताएका छन ।
अहिलेसम्म राजनीतिक अस्थिरताका कारण विकासका कामले फड्को मार्न नसकेको भन्दै उनले अबको सरकार बलियो सरकार हुने र विकासको कामले गति लिने बताए ।
उद्योग वाणिज्य संघ चितवनले यहाँ आज आयोजना गरेको समग्र चितवनको ‘आर्थिक विकासका लागि सम्भावना र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले चितवन भौगोलिक हिसाब र पर्यटकीय हिसाबले सम्भावना बोकेको जिल्ला भएकाले यसको विकासका लागि निजी र सार्वजनिक साझेदारी अघि बढाउँदै विकास गर्ने बताए ।
उनले भने, “जिल्लाको विकासका लागि ठूलो आकांक्षा बोकेर आएको छु सबै मिलेर मूर्तरुप दिनुपर्नेछ ।” अबको सरकारले उद्योग व्यवसायमैत्री उद्योग नीति ल्याएर देशको विकासमा औद्योगिक क्षेत्रको महत्वपूर्ण भूमिका दिने विश्वास व्यक्त गरे ।
देशको समृद्धि र विकासका लागि चितवनबाट सुरुआत गर्ने बताउँदै उनले समृद्ध राष्ट्रको विकल्प नभएको बताए ।
संविधान कार्यान्वयनको अन्तिम चरणमा रहेको भन्दै अध्यक्ष दाहालले भने, “देशको विकासका लागि अब हामी समाजवादको नयाँ मोडलबाट जानुको विकल्प छैन ।” उनले राजनीतिक अस्थिरताको अन्त्यका लागि अहिलेको गठबन्धन महत्वपूर्ण रहेको बताए ।
निर्वाचनको समयमा विचार, आस्थाका कारण भिन्नभिन्न भएको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय मुद्दामा सबै शक्तिसँग छलफल गरेर अघि बढ्ने बताए ।
अहिलेको समय भनेको विकास र समृद्धिबाट देशलाई अघि बढाउने समय रहेको बताउँदै उनले त्यसको सुरुआत चितवनबाट गर्ने बताए ।