१ असोज, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्कर आज काठमाडौँ आएका छन् । रष्ट्रपति डा रामवरण यादवसँग उनले शीतल निवासमा आज भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल एवम् तराई मधेस केन्द्रित राजनीतिक दलका नेताहरुसँग विदेश सचिव जयशङ्करले अलग अलग भेटघाट गर्नेछन् ।
संविधानसभाले नेपालको संविधान, २०७२ पारित गरी असोज ३ गते जारी गर्न लागेको सन्दर्भमा उनको भ्रमण भएको हो ।
नेपालस्थित भारतीय दूतावासका प्रेस सूचना तथा संस्कृति विभाग प्रमुख अभयकुमारले दिएको जानकारीअनुसार विदेशसचिव जयशङ्करले नेपालमा रहँदा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग राजनीतिक अवस्थाका बारेमा कुराकानी गर्नेछन् । रासस