१८ चैत, काठमाडौं । सरकारले चैत १० गतेदेखि गरेको लकडाउनका कारण देशभर अनुमति प्राप्त सवारीबाहेक अन्य सवारी साधन चलेका छैनन् । अत्यावश्यक कामबाहेक सवारी चलाए र घरबाहिर निस्किए प्रहरीले उक्त सवारी चालक र बाहिर निस्कने मानिसलाई लामो समय सडकमै उभ्याएर सजाय दिइरहेका छन् ।

१० गतेदेखि गरेको लकडाउनको समय आज बिहान ६ बजेबाट सकिएता पनि सरकारले बीचमा पुनः ८ दिनको लागि भन्दै चैत २५ गतेसम्मको लागि लकडाउन अवधि थपेको छ । कोरोनाभाइरसको उच्च जोखिमममा रहेकाले सरकारले यसको रोकथाम र नियन्त्रणको लागि लकडाउनको अवधि ८ दिन थप गरेको अर्थ एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

सरकारले लकडाउनको अवधि थपेसँगै जिल्ला प्रशासन कार्यालयमा सवारी पास लिनेको भीड देखिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं अगाडि सवारी अनुमति पास लिनेहरुको ब्यापक भिड भएपछि त्यहाँ रहेका प्रहरीलाई भिड थाम्न र तह लगाउन हम्मेहम्मे परेको छ । लकडाउनको अवधि थपेपछि यसअघि १८ गतेसम्मलाई दिएको पासको समयावधि पनि आज सकिएको । आज पासको समयावधि सकिएपछि प्रशासनमा पास लिनेको घुइँचो बढेको हो ।

उसो त जिल्ला प्रशासन कार्यालयले निश्चित संस्थालाई दिएको सवारी अनुमति पासमा मिति उल्लेख गरेको छैन । प्रशासनले विभिन्न संस्थाहरुलाई निश्तित संख्यामा पास दिएपछि त्यहाँ सहायक प्रमुख जिल्ला अधिकारीको सहि र छाप मात्र लगाउने गर्छ । त्यहाँको अन्य विवरण सवारी धनि वा पास पाएके संस्थाले नै भर्ने गर्छन् । धेरैजसो सवारीधनी वा संस्थाले लकडाउनको अवधि चैत १८ गतेसम्म भएका कारण अन्तिम मितिमा १८ गते लेखेका थिए । त्यसकारण पनि प्रशासनमा पास लिनेको भिड बढेको काठमाडौंमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

मंगलबार पासको लागि निवेदन दिनेनहरुल बुधबार मात्र पास पाउने अवस्था आएको पासको लागि आवेदन दिएका रेडियो थाहासञ्चारका स्टेसन म्यानेजर पवनराज पौडेलले बताए । ‘पास लिनेहरुको भीडका कारण भोलिमात्र पाइने भैयो’, उनी भन्छन् ।