कुशल श्रेष्ठ
आजभोली अधिकांशका घरमा आफैले वाइफाइ राख्न थालिसकेका छन्। कोठाभाडामा बस्ने विद्यार्थीहरूले पनि कि घरबेटीको वाइफाई चलाउँछन्, कि चाहिँ आफैले इन्टरनेट जोड्ने गर्छन्। आजकाल जमाना नै यस्तै आएको छ, इन्टरनेट बिना कसैको दिन सजिलैसित बित्न मान्दैन।
तर फेरि वाइफाइ चोर्नेहरूले पनि उत्तिकै समस्या दिइराखेका हुन्छन्। अलिअलि प्राविधिक ज्ञान भएकाहरूले त सजिलैसित आफ्नो वाइफाइलाई सुरक्षित राख्ने जुक्ति जानेका हुन्छन्। तर प्राविधिक ज्ञान नभएकाहरूको लागि भने यो मुश्किल काम हुन जान्छ।
त्यसैले आज हामी तपाईँहरूलाई सजिलैसित आफ्नै मोबाइलबाट वाइफाइको पासवर्ड कसरी राख्ने अथवा कसरी परिवर्तन गर्ने भन्ने बारे टिप्स दिन गैरहेका छौँ।
नयाँ पासवर्ड कसरी राख्ने?
सबैभन्दा बढी प्रयोग गरिने राउटर TP-LINK (वाइफाइ छोड्ने डिभाइस)मा कसरी नयाँ पासवर्ड राख्ने?
- सर्वप्रथम, राउटर अन गर्नुहोस्, मोबाइलबाट त्यसको वाइफाइ जोड्नुहोस्।
- अब राउटर डिभाइसको पछाडिपट्टी हेर्नुहोस्। तलको तस्विरमा देखाएजस्तो देख्न सक्नुहुनेछ। चित्रमा चिन्ह लगाएको बक्सभित्र देखाएजस्तै तपाईँको राउटरमा पनि केहि जानकारीहरू लेखेको हुनुपर्छ। त्यहाँको Default Access तल http://tplinklogin.net अथवा 192.168.0.1 अथवा 192.168.1.1 लेखेको देख्न सक्नुहुनेछ।
- त्यसभन्दा पनि तल Username र Password पनि देख्न सक्नुहुनेछ। याद रहोस् कि यो तपाईँको वाइफाइको पासवर्ड होइन। यो त त्यहि राउटरलाई कम्प्यूटरबाट खोल्ने यूजरनेम र पासवर्ड हो।
- अब तपाईँ आफ्नो मोबाइलबाट इन्टरनेट चलाउने ब्राउजर एप खोल्नुहोस् (जस्तै; गुगल क्रोम, अपेरा मिनी, आदि) र त्यहाँ तपाईँको राउटरमा देखाएकै IP ठेगाना (http://tplinklogin.net अथवा 192.168.0.1 अथवा 192.168.1.1) लेखेर खोजी गर्नुहोस्।
- त्यसपछि तपाईँले त्यहाँ राउटरको Username र Password राख्नुपर्ने हुन्छ। राउटरको पछाडि देखाइएको यूजरनेम र पासवर्ड त्यसको डिफल्ट डाटा हो। यदि त्यसलाई पहिल्यै परिवर्तन गर्नुभएको थियो भने नयाँ यूजरनेम र पासवर्ड राख्नुहोस्। होइन, परिवर्तन गरेको याद छैन भने त्यहि डिफल्ट नै राख्नुहोस्।
- अब तपाईँ हरियो रङ्ग पोतिएको साइटमा पुग्नुहुन्छ। त्यो तपाईँकै राउटर भित्रको सिस्टम हो।
- तपाईँको काम भनेको वाइफाइ (Wireless) को पासवर्ड राख्ने। त्यसको लागि:
- अघिको राउटरको सिस्टम साइटको देब्रे साइडतर्फका मेन्यूहरूमा Wireless भन्ने खोज्नुहोस् र त्यसमा ट्याप गरिसकेपछि त्यसै भित्र रहेको Wireless Security मा ट्याप गर्नुहोस्।
- अब त्यसभित्र तपाईँले कस्तो प्रकारको पासवर्ड राख्ने हो छनौट गर्न सक्नुहुन्छ। त्यहाँ ३ थरीका पासवर्डहरू र एउटा Disable Security अर्थात ‘पासवर्ड नराख्ने’ गरी ४ वटा विकल्पहरू देख्न सक्नुहुन्छ।
- सबैभन्दा उत्तम पासवर्डको प्रकार ‘WPA/WPA2 – Personal’ नै हो। त्यसमा टिक लगाउनुहोस् र Password भन्ने खाली ठाउँमा आफूले चाहेको पासवर्ड राख्नुहोस्। याद गर्नुहोस् कि, पासवर्ड ८ अक्षरभन्दा लामो हुनुपर्छ।
- पासवर्ड राखिसकेपछि त्यसको तलपट्टी भएको Save बटनमा ट्याप गर्नुहोस्।
- यसपछि अन्तिम काम भनेको राउटर ‘रि-स्टार्ट गर्ने’ हो। सीधै राउटरकै पावर बटनबाट अफ गरी फेरि अन गर्नुलाई रि-स्टार्ट गरेको भनिन्छ।
- राउटर अन भैसकेपछि भने सुरुमा तपाईँको मोबाइलमा वाइफाई जोडिन मान्दैन, किनभने मोबाइलमा वाइफाइको पासवर्ड तपाईँले हान्नुभएको छैन। त्यसैले मोबाइलको वाइफाइ खोजी गर्ने ठाउँमा गएर तपाईँले अघि राख्नुभएको वाइफाइको पासवर्ड मोबाइलमा राखेर जोड्न सक्नुहुन्छ।
पुरानो पासवर्डलाई कसरी परिवर्तन गर्ने?
पुरानो पासवर्ड परिवर्तन गर्न पनि सजिलै छ।
- अघिकै Wireless Security मा जानुहोस् र WPA/WPA2 – Personal अन्तर्गत Password मा पुरानो पासवर्ड हटाई नयाँ पासवर्ड राखेर Save बटनमा ट्याप गर्नुहोस्।
- राउटर रि-स्टार्ट गर्नुहोस् र वाइफाइको नयाँ पासवर्ड मोबाइलमा राखेर कनेक्ट गर्नुहोस्।



