३ मङ्सिर, इटहरी।
तत्कालीन रिजाल क्यानिङ एन्ड कम्पनीको नाममा दर्ता रहेको हालको इटहरी उपमहानगरपालिका–५ स्थित जनता बस्तीलाई अब बसोबासीका आधारमा राज्यले नै भूमि अधिग्रहण वा जफतको प्रक्रियामा लगेर व्यवस्थित बसोबासको सुनिश्चितता प्रदान गर्नुपर्ने कुरालाई प्राथमिकता दिन जोड गरिएको छ ।

नेपालमा प्रजातन्त्र प्राप्तिपश्चात् खाली अवस्थामा रहेको जमिनमा विभिन्न स्थानबाट आएका भूमिहीन मानिसले बसोबास गर्दै आएको तथा हाल आएर इटहरीको सबैभन्दा सघन बसोबास रहेको बस्तीसमेत बनिसकेको अवस्थामा सो रिजाल क्यानिङ एन्ड कम्पनीको हदबन्दीको जमिन पूर्ण सहरमा परिणत भएको छ । अब कानुनी रुपमा नै बस्ती हटाउन निक्कै कठिन हुने स्थितिको सिर्जना भइसकेको छ ।
रिजाल क्यानिङ एन्ड कम्पनीको नाममा रहेको खाली जमिनमा बसोबास गर्दै आएकाहरुको जनता बस्ती सरोकार समाजले आज भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाको भव्य स्वागत तथा सम्मानका लागि आयोजित कार्यक्रममा मन्त्री सुब्बाले जनता बस्ती इटहरीको मुटुको रुपमा रहेको मानव बस्ती भएकाले यसलाई अब वैधानिकता प्रदान गर्नेतर्फ आफ्नो सकारात्मक पहल हुने आश्वासन दिएका छन् ।
देशमा नयाँ संविधान जारी भएको अवस्था रहेको र विगतका ऐनकानुनले जे भने पनि वर्तमान संविधान अनुरुपका ऐनकानुन बनेपछि मन्त्रिपरिषदले जग्गा जफत गरेर बसोबासीका आधारमा जग्गाको स्वामित्व प्रदान गर्ने विषयमा नीतिगत निर्णय गर्ने विषयमा पनि आफूले सकेसम्म सकारात्मक भएर काम गर्ने पनि मन्त्री सुब्बाले वचन दिएका छन्।
विसं २०४७ देखि तत्कालीन इयरकोन कम्पनीले सो जमिन छाडेर गएपछि मानिसले खाली रहेको जमिनमा बसोबास थालेको तथा हाल यस भूमिमा नौ हजार जनसङ्ख्याको बसोबास भइसकेको र इटहरी उपमहानगरपालिकाले समेत १४ वटा टोल विकास संस्थाको वैधानिकता प्रदान गरेकाले यो बस्ती हटाउने विषयमा राज्यले नकारात्मक चिन्तन राख्न पनि नसक्ने मन्त्री सुब्बाको विश्लेषण रहेको थियो ।
हदबन्दीभन्दा माथिको ३१ बिघा पाँच धुर जमिनमा मानिसको सघन बसोबास रहेको र अहिले त्यो बस्तीमा रक्तमाला प्राथमिक विद्यालय तथा प्रहरी चौकीसमेत बनिसकेको छ । जनता बस्तीलाई व्यवस्थित तुल्याउनका लागि उपमहानगरपालिकाले १४ वटा टोल विकास संस्थामार्फत त्यहाँको सडक कालोपत्र गर्ने तथा बस्तीमा बिजुली, खानेपानीलगायतका आधारभूत विकासका पूर्वाधारसमेत निर्माण गरिसकेको छ ।
कार्यक्रममा नेपाल बार एसोसिएसन सुनसरीका पूर्वअध्यक्ष कृष्ण दाहालले कानुनीरुपमा नै पहिले नै तत्कालीन भूमिसुधारमन्त्री जगन्नाथ आचार्यले भूमि जफत गरिसकेको र अहिलेको अवस्थामा नयाँ संविधान भएर पुरानो ऐनकानुन नभएको अवस्थामा यो बस्तीको अव्यवस्थित बसोबासीलाई राज्यले नयाँ कानुनी व्यवस्थाको तर्जुमा गरेर व्यवस्थित बसोबास कायम गराउन सक्ने आधार रहेको स्पष्ट पारे ।
जनता बस्ती सरोकार मञ्चका अध्यक्ष रामप्रसाद राईको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री सुब्बालाई सम्मानसमेत गरिएको थियो । सो अवसरमा अरिमाया दाहाल लगायतले बोलेका थिए । कार्यक्रममा मन्त्री सुब्बालाई जनता बस्तीका हजारौँ मानिसले फूलमाला र अबिर लगाएर भव्य स्वागत गरेका थिए भने कार्यक्रममा च्याब्रुङ नाच पनि प्रस्तुत गरिएको थियो ।
मन्त्री सुब्बाले सोही बस्तीमा रहेको तामाङ समुदायको टाँसी छ्योलिङ गुम्बाको पनि स्थलगत अवलोकन गरे । त्यस अवसरमा गुम्बाको विषयमा स्थानीयवासीबाट मन्त्री सुब्बालाई जानकारी दिइयो । साथै सो अवसरमा जनता बस्तीका विषयमा राज्यका तर्फबाट के गर्न सकिन्छ भनेर मन्त्री सुब्बाले स्थानीयवासीसँग छलफलसमेत गरेका थिए । रासस