एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–उन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगको छन् ।
राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघि नै घोषणा गरिसकेको छ । भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले पत्रकारलाई बताएका छन् । तर उनले देशको संयुक्त वक्तव्य वा कुनै सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम नरहेको बताए ।

गत फेबु्रअरीका भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किमको यो पहिलो भेटवार्ता हो ।किमले बुधबार बिहान सबेरै निजी रेलबाट भ्लादिभोस्तकतर्फ लाग्नुभएको उत्तर कोरियाली समाचार समिति केसीएनएले जानकारी दिएको थियो ।
किमलाई रुसी सीमा शहर खसानमा स्थानीय नागरिकले परम्परागत शैलीमा भव्य स्वागत गरेको रुसी समाचार समितिले जानकारी दिएको छ । देशमाथि लागेका आर्थिक प्रतिबन्धका कारण सङ्कटमा परेका किमले गत वर्षदेखि कुटनीतिक गतिविधिलाई तिब्रता दिएका छन् । रुसी राष्ट्रपति पुटिनले नेता किमलाई रुस भ्रमणका लागि निम्ता गरेका थिए ।