आजको युग विज्ञानप्रविधिको युग! मानिसको हरेक इच्छा र चाहनालाई परिपूर्ति गर्नका लागि विज्ञानले ठूलो भूमीका खेलेको हुन्छ। पृथ्वी गोलो छ तर पहिलेका दिनहरूमा पृथ्वीको एक कुनाबाट अर्को कुनासम्म जान धेरै मुश्किल हुन्थ्यो या भनौँ असम्भव थियो।
विज्ञानकै सहाराले सन् १९०३ मा विमानको आविष्कार भयो। तर विमानको यात्रा असाध्यै खतरनाक हुने गर्छ। विमानको आविष्कार भएदेखि अहिलेसम्ममा लगभग ५००० भन्दा बढि विमान दुर्घटना भैसकेको छ। त्यसैले आजका दिनहरूमा वैज्ञानिकहरूले विमानको यात्रालाई कसरी सुरक्षित बनाउने भन्ने तर्फ नै अनुसन्धान गरिरहेका छन्। अधिकांश विमान दुर्घटनाहरू ‘विमान बिस्फोटन’को कारण हुने गर्दछ। त्यसैले नै बिस्फोट हुनबाट बच्ने विषय नै वैज्ञानिकहरूको प्रमुख चासो बन्दै गएको छ।
विमान यात्रालाई सुरक्षित बनाउने प्रविधिको सिद्धान्तहरू नबनेका पनि होइनन्, तर यी सिद्धान्तहरू केवल परिकल्पनामा नै सिमित भएको छ। मतलब, आजको प्रविधिले ती सिद्धान्तलाई परिपूर्ती गर्न सकेको छैन।
सुरक्षाको साथै वैज्ञानिकहरूले विमानको गतिमा पनि अनुसन्धान गरिरहेका छन्। सुरक्षित विमानको साथसाथै उच्च गतिमा उड्ने विमानको आविष्कार नै आजका वैज्ञानिकहरूका लागि मूख्य चासोको विषय बन्न पुगेको छ।
हेरौँ, यी वैज्ञानिकहरूले भविष्यमा कस्ता-कस्ता विमानको आविष्कार गर्नेछन्ः
१. डिट्याचेबल क्याबिन
यूक्रेनियन आविष्कारक ‘भ्लादिमिर तातारेन्को’ले ‘विमानमा कुनै किसिमको समस्या आउने बित्तीकै विमानको क्याबिन स्वतः छुट्टिएर जमिनमा झर्ने (Detachable Cabin)’ सिद्धान्तको परिकल्पना गरेका छन्। तर यसलाई वास्तविकतामा लागू गर्न असाध्यै गाह्रो हुने विज्ञहरू बताउँछन्।
२. स्पेसलाइनर
जर्मनीको ‘इन्स्टिच्यूट अफ स्पेस सिस्टम’मा अनुसन्धानकर्ताहरूले गत वर्ष उनीहरूको ‘स्पेसलाइनर’ विमानको अवधारणा पेस गरेका थिए। उनीहरूको यो ‘हाइपरसोनिक जेट’ले लण्डन देखि मेलबर्न सम्म (१६,८९३ किलोमिटर) केवल ९० मिनेटमै यात्रा गर्न सक्ने उनीहरूले दाबी गरेका थिए।
३. स्क्रीमर
यो ‘स्क्रीमर’ (Skreemr) को डिजाइनले गर्दा सन् २०१५ मा थुप्रै विवाद भएको थियो। किनभने, यसले माक १० (१२,२५० किलोमिटर प्रतिघण्टा) को गतिमा यात्रा गर्ने यसका डिजाइनरहरूले दाबी गरेका थिए। यसको मतलब उक्त विमानले न्यू योर्क देखि लण्डन सम्म (५,५६६ किलोमिटर) केवल ३० मिनेटमै यात्रा गर्न सक्नेछ।
४. सेल्फ हिलिङ्ग प्लेन
गत वर्ष, इङ्ग्ल्याण्डको ‘ब्रिस्टोल युनिभर्सिटी’का एक समूहले एउटा अनौठो प्रविधिको विकास गरेका थिए। यो प्रविधिले मानिसको छाला स्वतः निको भएजस्तै विमानमा भएको क्षतिलाई स्वतः मर्मत गर्न सक्ने (Self Healing) उनीहरूले दाबी गरेका थिए। यो प्रविधिलाई ५/१० वर्षभित्रमा सार्वजनिक गर्ने अनुसन्धानकर्ताहरूले बताएका थिए।
५. ट्रान्सएट्लान्टिक सिप्लेन
सन् २०१५ मा नै, ‘इम्पेरियल लण्डन कलेज’का ‘एरिस्कोस लिभाइज’ले यस ‘ट्रान्सएट्लान्टिक सिप्लेन’ (Transatlantic Seaplane)को डिजाइन बनाएका थिए। यस विमानले २००० यात्रुहरू बोक्न सक्ने र यसको मूख्य इन्जिन विमानको छतमा राखिने लिभाइजले बताएका थिए।
६. प्रोग्रेस इगल
सन् २०१५ मा, विमानका शौखिन र डिजाइनर ‘ओस्कार भाइनल्स’ले ‘आवा प्रोग्रेस इगल’ (AWWA Progress Eagle) नामक विमानको डिजाइन बनाएका थिए। यस विमानले ८०० जना यात्रु बोक्न सक्ने अनि सौर्यऊर्जा र हाइड्रोजनको सहायताबाट उँड्ने भाइनल्सले बताएका थिए।
७. स्काइह्वेल
यस ‘स्काइह्वेल’ (Skywhale) विमान पनि भाइनल्सले नै सन् २०१४मा डिजाइन गरेका थिए। यस विमानमा स्वतः मर्मतवाला पँखेटा हुने, ठूला झ्यालहरू हुने, जमीनबाट ठाडो भएर उड्नसक्ने अनि ७५५ यात्रुक्षमता हुने भाइनल्सको डिजाइनले प्रष्ट पारेको थियो।
८. एयरल्याण्डर
सन् २०१४ मा, ब्रिटिस डिजाइन कम्पनी ‘हाइब्रिड एयर भेहिकल्स’ले ‘एयरल्याण्डर १०’ (Airlander 10) विमानको डिजाइन पेश गरेको थियो। ९२ मिटर लामो यस वायुविमान (Airship)को इन्धन ‘हिलियम’ ग्यास हुने उक्त कम्पनीले बताएको थियो।
९. एयरबस कन्सेप्ट प्लेन
विमान निर्माण कम्पनी ‘एयरबस’ले भविष्यमा निर्माण गर्ने विमानको अवधारणा सार्वजनिक गरेको छ। उनीहरूका अनुसार, यो विमानमा क्याबिन पारदर्शी हुने, होलोग्राफीक गेमिङ डिस्प्ले हुने अनि यात्रुको आकारअनुसार सिटको आकार पनि परिवर्तन गर्न मिल्ने जस्ता विशेषताहरू हुनेछ। यस्तो विमान सन् २०५० सम्ममा निर्माण भैसक्ने उनीहरूले जानकारी दिएका छन्।
१०. विण्डोलेस सुपरसोनिक जेट
सन् २०१४ मा, ‘स्पाइक एरोस्पेस’ले संसारकै पहिलो सुपरसोनिक जेटको परियोजनाको बारेमा घोषणा गरेका थिए। कम्पनीका अनुसार, यस विमानले ध्वनीको गति पार गरेर माक १.८ (२,२०५ किलोमिटर प्रतिघण्टा) को गतिमा उड्न सक्नेछ। यस ‘एस-५१२ सुपरसोनिक जेट’मा झ्याल हुनेछैन। बरु, क्याबिनका भित्ताहरूमा स्क्रीन राखिनेछ, जसमा बाहिरका दृश्यहरू देखाइनेछ।