५ फागुन, काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा सफाई दिएपछि पूर्वसभामुख कृष्णबहादुर महराले सबैलाई आभार व्यक्त गरेका छन् ।

डिल्लीबजार कारागारबाट छुटेर घर फर्किएपछि वक्तव्य जारि गर्दै महराले सम्मानित अदालतसहित सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् । ३० दिन प्रहरी हिरासत र १ सय ३ दिन डिल्लीबजार कारागारमा बसेर आरोप खेपेको भन्दै महराले भनेका छन्, ‘सद्भाव र सहानुभूति दिने समर्थक, शुभचिन्तक, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, प्रहरी र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।’

उनले एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकता सधैं थियो र अहिले पनि रहेको भन्दै सदैव रहिरने प्रतिवद्धता व्यक्त गरेका छन् । महरा रिहाई हुँदा उनलाई डिल्लीबजार कारागार बाहिर फूलमाला र खादाले स्वागत गर्नेको भीड लागेको थियो ।