काठमाडौं ।
डा बाबुराम भट्टराई यस्ता ब्यक्तित्व हुन् जो ३९ बुँदे माग शेरबहादुर देउवालाई बुझाएर जनयुद्धमा गए, १० वर्षे जनयुद्धमा अनेक उतार चढाव ब्यहोरेर शान्ति पूर्ण प्रक्रियामा पार्टीलाई अवतरण गराउन महत्वपूर्ण भूमिका खेले ।
संविधानसभाको चुनावमा देशमै सबैभन्दा बढी मत प्राप्त गरेर विजयी मात्र भएनन् त्यही संविधानसभाबाट गणतन्त्र नेपालको प्रथम सरकारमा अर्थमन्त्री र गणतन्त्र स्थापनापछिको चौथो प्रधानमन्त्री पनि बने । तर जनयुद्ध देखि नै हाइ हाइ पाउने बाबुरामले अर्थमन्त्री हुँदा जस्तो हाइ हाइ प्रधानमन्त्री हुँदा पाएनन् । बाबुरामकै सरकार हुँदा संविधानसभा विघटन भयो र कतिपयले उनलाई संविधानसभा विघटन गराएको दोष थोपर्न पनि खोजे ।
दोश्रो संविधानसभा समग्र एमाओवादीका लागि प्रतिकुल बन्यो । अधिल्लो पाली भारी मत ल्याएका शीर्ष नेताहरु पनि पराजित हुन पुगे । स्वयं बाबुराम भट्टराई समेत गोरखामा विजयी भएपनि रुपन्देहीमा पराजित हुन पुगे । दोश्रो संविधानसभामा एमाओवादीको कमजोर उपस्थितीका बाबजुद पनि शुरु देखि बाबुराम भट्टराईले एउटै कुरा भने- अव जसरी पनि संविधान बनाउनु पर्छ अहिले भएन भने कहिल्यै पनि हुँदैन ।
शुरु देखि नरम अन्त्यमा गरम
संविधानसभामा पार्टी कमजोर बनेपनि राजनीतिक संवाद तथा सहमति समितिको सभापति बन्ने मौका पाएका बाबुराम भट्टराईले सभापतिकोरुपमा शुरु देखि नै जसरी पनि संविधान जारी गर्ने कुरामा जोड दिँदै आए । कतिपयले उनलाई संविधानको एक पुस्तक मात्र जारी गर्न खोजेको भन्दै ब्यापक आलोचना गरे । पार्टी भित्रै समेत उनको भनाइको विरोध भयो । उनले नरम कुरा गरेपनि पार्टी अध्यक्ष प्रचण्ड भने संविधानसभामा शुरु देखि नै आक्रामक रहेका थिए । बहुमतको आधारमा भएपनि संविधान जारी गर्नु पर्ने तर्क राख्ने केपी ओलीसँग प्रचण्डको सार्वजनिक भनाभनको अवस्था समेत पैदा भएको थियो ।
गत माघ महिना सम्म विभिन्न खाले आन्दोलन घोषणा गर्दै मोर्चा बन्दीमा रहेका प्रचण्ड माघ पछि कमजोर हुँदै गए र बैशाखमा गएको भूकम्प पछि पुरै नरम देखिए । प्रचण्ड र ओलीबीचको सम्बन्ध सुधारको प्रभाव संविधानसभामा समेत पर्यो र बहुमतीय प्रक्रियामा जाने भनेर रटान लगाइरहेका कांग्रेस एमाले १६ बुँदे सहमति मार्फत ८ प्रदेशको संघीयता सहित सहमतिमा संविधान जारी गर्न तयार भए ।
प्रचण्डको ठाउँमा बाबुराम बाबुरामको ठाउँमा प्रचण्ड
संविधानसभामा रहेका प्रमुख ४ शक्तिबीच १६ बुँदे सहमति भयो र देशमा ८ प्रदेशको संघीयता ल्याउने सहमति भयो । तर त्यो सहमतिले मधेशी लगायतका पक्षलाई भने चिड्यायो । त्यसअघि सम्म माओवादीसँगै आन्दोलनमा रहेका मधेशी दलहरु एकल आन्दोलनमा निस्किए । एमाओवादीका प्रचण्ड र कांग्रेसका शेरबहादुर देउवाको भारत भ्रमणपछि दलहरुबीच ६ प्रदेशको संघीयतामा जाने सहमति भयो । यो सहमतिपछि कैलाली सहित कर्णालीमा आन्दोलन भए र दलहरु पुनः ७ प्रदेशको खाका कोर्न बाध्य भए । यी घटना भैरहँदा पनि प्रचण्डले जसरी पनि छिटो संविधान जारी गर्ने कुरालाई जोड दिइरहेका छन् ।
भारतबाट फर्किएपछि कुनै पनि एजेण्डाले संविधान जारी गर्ने काम नरोक्ने उद्घोष गरेका प्रचण्ड नरम बन्दै जाँदा शुरु देखि त्यस्तै बोल्दै आएका बाबुराम भने आक्रामक देखिन थालेका छन् । जुम्ला वा कैलाली घटनापछि सेना परिचालन गरिएको विषयमा होस् वा मधेशमा आन्दोलनकारी मारिएको विषयमा होस् बाबुरामले पेलेर अघि बढ्न नसकिने आक्रामक चेतावनी दिइरहेका छन् ।
‘१७ सालका भूतहरु’ भन्दै बाबुरामले गरेको भाषण (पूर्ण पाठसहित)
प्रचण्डले आन्दोलनकारीको माग सम्बोधन गर्दै भन्न नछुटाएपनि छिटो संविधाान जारी गर्न कुरालाई सबैभन्दा बढी जोड दिएको देखिन्छ भने बाबुरामले छिटो संविधान जारी गर्ने नाममा पेलेर जान नहुने सन्देश दिइरहेका छन् । पछिल्लो पटक बाबुरामले आइतबार मात्र फेसबुकबाट देशभरी तनाव र अशान्ति भैरहेको समयमा सेना परिचालन वा कर्फ्यूकाबीच संविधान जारी गरेर समाधान नहुने चेतावनीपू्ण स्ट्याटस लेखे ।
किन आक्रामक बन्दैछन् बाबुराम ?
बाबुराम भट्टराई युद्धकाल देखि नै योजनाका लागि पक्का नेता हुन् । तर बाबुराम योजना, भिजन तथा दुरदृष्टि भएका तर त्यसलाई मुखरित गर्न भने त्यति सफल हुन नसकेका ब्यक्ति हुन् ।
बाबुरामको स्ट्याटसमा गीता श्लोकः कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन
पार्टी युद्धमा रहे देखि नै विभिन्न सफल नारा तय गरेका बाबुराम पार्टीमा प्रथम स्थानमा नपुगेको वा पुग्न नदिइएको भने दुःखी छन् । संविधान जारी भएपछि बाबुराम प्रचण्डसँग नबस्ने र नयाँ शक्ति भन्दै उनले चलाएको चर्चा अनुसार नै उनको नेतृत्वमा नयाँ पार्टी खुल्ने अनुमान समेत कतिपयले गर्छन् । संविधान जारी भएपछि देशमा फरक किसिमको राजनीतिक माहौल बन्ने निश्चित छ । त्यसपछिको राजनीतिक माहौलमा आफ्नो भविष्य बढी सुरक्षित देखेका जस्ता देखिने प्रचण्ड नरम बनिरहँदा बाबुराम भने गरम बनिरहेका छन् ।
संविधान जारी भएपछि पार्टीमा क्रान्तिकारी धार पनि नछोडेको र असन्तुष्ट रहेका हिँजो आफूसँगै रहेका शक्तिहरुबीच पनि लोकप्रिय रहनेगरी बाबुरामले अभिब्यक्ति दिइरहेको आरोप समेत कतिपयले लगाउँछन् । तर बाबुरामले बलजफ्ती संविधान जारी गर्दैमा पनि देशमा समस्या समाधान हुँदैन भन्ने कुरा मनन गरेको जस्तो देखिन्छ । शुरु देखि नै भारत परस्तको आरोप खेपेपनि बाबुरामलाई पछिल्लो समयमा भने भारतसँग जोड्न छोडिएको छ । शुरु देखि नै संविधान जारी गर्नु पर्ने भन्दै सम्झौतामा जोड दिएका उनी अन्त्यमा आएर गरम बन्नुले यही कुरा भन्छ ।
नेताहरुलाई चेतावनी दिँदै बाबुराम भट्टराईको स्ट्याटसः नक्शा सहित थरुहट प्रदेश प्रस्ताव
बाबुरामले पछिल्लो पटक कैलाली र मधेशका विषयमा दिएका अभिब्यक्तिलाई कतिपयले सुन्न समेत चाहेका छैनन् । त्यसैले होला उनलाई कैलाली घटना भड्काएको आरोप समेत कतिपय शीर्ष नेताबाटै खेप्नु पर्यो । तर आर्थिक विकाशमा जोड दिने बाबुरामले संविधान जारी भएपछि देशमा तनावका छिटाहरु नदेखिउन र एक किसिमले आर्थिक विकाशमा अघी बढ्न सकियोस् भन्ने सदिच्छा राखेको देखिन्छ । देशमा अझै पनि कार्यकारी पदमा पुग्ने सपना नछोडेका बाबुरामले अन्तिम सम्म पनि प्रत्यक्ष निर्वाचित कार्यकारीमा जोड दिइरहेका थिए । देशलाई शान्त र समृद्ध बनाएर नेतृत्व गर्न सकिन्छ भन्ने अपेक्षा उनमा अझै पनि प्रवल देखिन्छ ।
किन रातारात बदलियो प्रचण्ड-बाबुरामको रणनीति ?
बाबुरामले संसदमा समेत प्रष्ट भनेका छन्- असन्तुष्टका माग सुन्न तयार हुनुपर्छ खासगरी थारू, मधेसी, महिला, मगर, दलित, मुस्लिम, जनजातिलगायतका जुन आवाज उठेका छन्, तिनलाई अधिकतम सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । दमन, धरपकड बन्द गर्नुपर्छ भन्ने आन्दोलनकारीका मागमा सरकार सकारात्मक हुनुपर्छ । अत्यधिक बल प्रयोगतिर जान हुँदैन । अहिलेको समस्या राजनीतिक भएकाले राजनीतिक ढंगले नै हल गर्न सरकार लचिलो हुनुपर्छ । लोकतन्त्रका आधारभूत कुरा मान्नुपर्छ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र जुन चार खम्बा हुन् यी चार खम्बामध्ये कुनै पनि खम्बा कमजोर हुन दिनुहुँदैन ।
आलोचना सहन नसक्ने भनेर आलोचित बाबुरामले आफूलाई सामाजिक सञ्जालमा गरिएका गालीलाई फूलको गुच्छा सम्झिएको भन्दै राजनेताको झल्को दिएका छन् । आउँदा दिनमा बाबुराम साँच्चिकै राजनेता ठहर्छन् कि ठहर्दैनन् त्यो भने भविष्यले नै देखाउने छ ।