३१ भदौ, काठमाडौं ।

सँधै राजनीतिक सहमतिका जानकारी र अन्य कुराहरुमा उत्साहजनक फेसबुक स्ट्याटस राख्ने एमाओवादी बाबुराम भट्टराईले संविधानसभाबाट संविधान पारित भएपछि भने कुनै उत्साह देखाएनन् ।

असन्तुष्टसँग वार्तामा जोड दिँदै आएका बाबुरामले मधेशी र थारुहरुसँग वार्ता र सहमति गरेपछि मात्र संविधानसभाको प्रक्रिया अघि बढाउन माग गर्दै आएका थिए । तर उनलाई पेलेर अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले संविधान जारी गरेरै छोड्ने अडान लिएपछि बाबुराम रिसाएको उनको स्ट्याटसबाट देखिएको छ ।

वार्ता गर्न छोडेर संविधानको मतदान प्रक्रिया शुरु भएको भन्दै कडा स्ट्याटस लेखेका बाबुरामले संविधानसभाले संविधान पारित गरेपछि लेखे-

अन्तत: सार्वभौम संविधानसभाले संविधानका सबै धारा ( ३०२+६+प्रस्तावना) पारित गरेकोछ! अब खालि औपचारिकता वाँकी! सबैको जय होस्!!’

उनको स्ट्याटसमा उत्साह देखिएन । संविधानसभाबाट संविधान पारित भएपछि प्रचण्ड लगायतका नेता उत्साहित भएर बाहिर निस्किए र बोले तर बाबुरामले भने कुनै उत्साहजनक प्रतिक्रिया नै दिएनन् । कतिपयले शुरुदेखि संविधान बनाउन लागि परेका बाबुरामले अन्तिम समयमा आएर भूमिकाविहिन जस्तो बनाइएको र हेपिएको टिप्पणी समेत गरेका छन् ।


Baburam after ca passed constitution

उनले हिँजो दिउसो मात्र ‘मधेस आन्दोलनको क्रममा राज्यद्वारा ज्यान लिइएका ४ वर्षे वालक चन्दन पटेल र संविधान निर्माणवारे यो मार्मिक टिप्पणी’ भन्दै मधेश आन्दोलनप्रति साहानुभूति प्रकट गरेका थिए ।

Baburam after ca passed constitution 1

संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिका सभापति भएपनि उनी संविधान पारित हुने समयमा भने ओझेलमा परेको जस्तो देखिएको छ ।

शुरु देखि नरम अन्त्यमा गरम

संविधानसभामा पार्टी कमजोर बनेपनि राजनीतिक संवाद तथा सहमति समितिको सभापति बन्ने मौका पाएका बाबुराम भट्टराईले सभापतिकोरुपमा शुरु देखि नै जसरी पनि संविधान जारी गर्ने कुरामा जोड दिँदै आए । कतिपयले उनलाई संविधानको एक पुस्तक मात्र जारी गर्न खोजेको भन्दै ब्यापक आलोचना गरे । पार्टी भित्रै समेत उनको भनाइको विरोध भयो ।

किन आक्रामक बन्दैछन् बाबुराम ?

संविधान जारी हुने समय सम्म आइपुग्दा भने बाबुराम आक्रामक देखिन थाले । जुम्ला वा कैलाली घटनापछि सेना परिचालन गरिएको विषयमा होस् वा मधेशमा आन्दोलनकारी मारिएको विषयमा होस् बाबुरामले पेलेर अघि बढ्न नसकिने आक्रामक चेतावनी दिइरहेका थिए ।

baburam warning on facebook

संविधान जारी भएपछि बाबुराममा देखिएको उदासिनताले उनलाई संविधान जारी गर्ने समयमा हेपिएको महसुस भएको प्रष्ट देखिन्छ । बाबुराममा उत्साह नहुनुले एमाओवादीमा समेत यसको प्रभाव पर्ने विश्लेषकहरुले बताएका छन् । बाबुराम मात्र नभएर एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत संविधान जारी गर्न हतार गर्नु भन्दा वार्ता र सहमतिमा जानु पर्ने पक्षमा रहँदै आएका थिए ।