१६ माघ, एजेन्सी । चीनमा कोरोना भाइरसका कारण थप ३८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ७० पुगेको छ ।

चीनसहित विश्वभर यो भाइरसबाट संक्रमितको संख्या ६ हजारभन्दा बढी पुगिसेको छ । मृतक र संक्रमितको संख्या दिनानुदिन बढेसँगै नेपालसहित विश्वभरका अन्य देशहरुले चीनसँगको हवाई उडान स्थगित गरेका छन् । संक्रमण सर्न सक्ने भन्दै विभिन्न देशका सैयौँ उडानहरु चीन उडान स्थगित गरेका छन् ।

भाइरसका कारण अहिले चीन सरकारले कसैलाई पनि घरबाहिर ननिस्कन अनुरोध गरेको छ । सडकमा एम्बुलेन्स बाहेका अन्य सवारी साधनहरु चलेका छैनन् । पुरै शहरका सडकहरु एकदमै खाली भएका छन् । बुहानको स्थानीय सरकारले कसैलाई पनि घरबाहिर ननिस्कन भनेको छ ।

चीनमा मात्र नभएर संसारका अन्य देशहरुमा पनि कोरोना भाइरसका संक्रमित भेटिएको खबर बाहिरिएको समाचारमा जनाइएको छ । चीन बाहेक अन्य देशहरुमा पनि ४४ जनामा कोरोना भाइरसको संक्रमण फेला पारिएको छ । उनीहरुको उपचार भइरहेको छ । यद्यपि चीनभन्दा बाहिर कुनै पनि व्यक्तिको यो भाइरसको कारणले मृत्यु भने भएको छैन ।

यस्तै चीनको राजधानी बेइजिङमा पनि भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । यसअघि चीनको राजधानीमा भाइरसको संक्रमित फेला नपारेपनि एकजनाको मृत्यु भइसकेपछि बेइजिङमा पनि उच्च सतर्कता अपनाइएको छ ।

भाइरसको संक्रमण बढ्दै गएपछि चीन सरकारले सांघाईमा आगामी १० फरवरीसम्म कार्यालय खोल्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध चिकित्सा र औषधिको क्षेत्रसँग सम्बन्धित कम्पनी र कार्यालयलाई नलाग्ने बताइएको छ ।