७ चैत, एजेन्सी । विश्ब्यापी महामारीको रुप लिएको कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमितको संख्या साढे २ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वका १ सय ७० भन्दा बढी देशमा २ लाख ५२ हजार ७ सय ३१ जना कोरोनाको संक्रमणमा परेका छन् । जसमध्ये १० हजार ४ सय ५ जनाले ज्यान गुमाइसकेका छन् ।

८९ हजार ५६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १ लाख ५३ हजार २ सय ७० जना अस्पतालमै उपचाररत छन् । जसमध्ये ७ हजार ४ सय ५० जनाको अवस्था चिन्ताजनक छ । आज मात्रै इरानमा १ सय ४९ जनाको मृत्यु भएपछि मृतकको संख्या १४ सय ३३ पुगेको छ । इरानमा १२ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा आज मात्रै १ सय ७१ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा मर्नेहरुको संख्या १ हजार २ पुगेको छ भने १९ सय ३ जना नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा ५ सय ७७ जना नयाँ संक्रमित थपिँदा १० जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा ३, बेल्जियममा १६, इण्डोनेसियामा ७, डेनमार्कमा ३, पेरु २, पोर्चुगल, पोल्याण्ड, इक्वेडर, पाकिस्तान, फिलिपिन्स, भारत, ताइवान, अल्जेरिया, कोष्टारिका र मोरक्कोमा एक/एक जनाको मृत्यु भएको छ ।