३ फागुन, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवोधन गरेका छन् । संवोधन पछि सांसदहरुले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएका छन् । सांसद्हरुले सीमा विवाद, संविधान संसोधन, एमसीसी, यति लगायतका विषयमा उठाएका प्रश्नको यसरी संवोधन गरेका छन् ।

सीमा विवादको सन्दर्भमाः
नेपालको भू–भाग नेपालले छोड्दैन । तथ्य र प्रमाणको आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भू–भागहरु हाम्रो नै हो । प्रधानमन्त्री स्तर वार्ता गर्ने कुरा एकपक्षीय कुरा गर्ने होइन । उता(भारत)बाट पनि सहमति आउनुपर्छ । हामी भू–भाग नै फर्काउने तयारीमा छौँ भने नक्सा छाप्न कुन ठूलो कुरा भयो र ? सीमाचौकी स्थापनाको लागि हामी लागिपरेका छौँ ।

संविधानको सर्वमान्यः
संविधान संसोधन आवश्यक छ । उपयुक्त समय र औचित्यका आधारमा हुन्छ । संविधान मान्ने भएर नै संविधान संसोधन गर्नुपरेको हो । संविधान नमान्नेलाई त किन हुनुपर्यो संसोधन ? संविधान सर्वमान्य भएर नै संसोधनको कुरा उठ्यो । संविधान संसोधनीय दस्तावेज हो । संसोधन आवश्यक भएमा संसोधन स्वीकार्दिन भन्नु औचित्यहीन कुरा हो ।

अदालतमा विचाराधीन मुद्दाः
अदालतमा भएका मुद्दाहरुको विषयमा प्रश्न उठाउनु आवश्यक छैन । नेपालमा न्यायालय स्वतन्त्र निकाय हो । त्यसमा सरकारले हस्तक्षेप गर्दैन मात्र होइन हस्तक्षेप गर्न हैसियत पनि छैन । अदालतमा विचाराधीक मुद्दाहरु सरकारको टाउकोमा हाल्नु उचित होइन ।

महिला सहभागिताः
३३ प्रतिशत महिलाको लागि संसदमा लामो समय संघर्ष गरेको हो । यहाँ संसदमा ३३ प्रतिशत महिला हुनुहुन्छ । केही पार्टीहरुले हामीले त्यतिबेला ३३ प्रतिशतको कुरा उठाउँदा विरोध गर्नेहरुले पनि अहिले ३३ प्रतिशत नै महिला सामेत गराउनुभएको छ ।

व्यापारी, ब्यवसायीः
सरकार उद्योगी, ब्यापारी र ठेकेदारहरुको पक्षमा छ भन्ने सुनिन्छ । उनीहरुको बिपक्षमा सरकार छैन तर उनीहरुले नियममा रहेका काम गर्न चाहान्छने भने सरकार किन उनीहरुको विरोधमा हुने ? सरकार निजी क्षेत्रसँग समन्वय गरेर काम गर्न चाहान्छ । तर निजी क्षेत्रलाई सरकारी जग्गा दिएर सरकार तल पर्ने काम कहिल्यै हुन्न ।

यति होल्डिङः
यति होल्डिङलाई यहि सरकारले सबै सरकारी सम्पति दिएको हैन नी । कुन–कुन सरकारको पालामा त्यो भाडामा दिइएका रहेछन् सरकारले छानविन गर्दैछ । आफ्नो पालामा कुरो बिगार्नी अहिले कुरा गर्नी ? अवधि सकिएपछि मात्र दिँदा त्यहाँको विकासमा अवरोध हुनसक्छ । शिवपुरीको जग्गा पनि यति समूहलाई दिएको विषयमा पनि म छानविन गराउँछु ।

कोरोना भाइरसः
कोरोना भाइरसका विरामी नेपाल ल्याउन लागेको होइन । बिरामी नभएका नेपाली विद्यार्थीहरुलाई ल्याउन लागिएको हो । बाटोमा केही भइहाल्छन् की भनेर क्वारेन्टाइनमा राख्न लागिएको हो । केही पनि सुविधा नभएका जिल्ला राख्ने कुरा भएन । केही न केनी सेवा सुविधा भएको जिल्लामै राख्नुपर्यो । मेरो जिल्लामा राख्नु भएन भन्छन् साथीहरु, अब कहाँ राख्ने ? भक्तपुर मेरो पनि जिल्ला हो । अन्त पठाउँदा विवाद होला भनेर मेरो आफ्नै जिल्लामा राख्न लागेको हो ।

एमसीसीः
एमसीसीको बारेमा केही कुरा बुझ्न बाँकी होला । एमसीसीको विषयमा केही विवाद छैन । सभामुखले निर्णयार्थ पेश गर्नेबित्तिकै एमसीसी पास हुन्छ ।

एनसेलः
एनसेल एउटा यस्तो विषय भयो नी । विप्लवले पैसा पाएन भनेपनि एनसेलको टावरमा लगेर बम पड्काको छ । अरुलाई रिस उठेपनि एनसेल भन्या छ । एनसेलको विषयमा सरकारले गर्ने कुरा होइन । सर्वोच्च अदालतले सबै कुरा निर्धारण गरिसक्यो । हामीले गर्ने कुरा त केही होइन ।

महंगीः
विगत १ वर्षमा ९ प्रतिशतको दरले मुल्यवृद्धि हुनेगरेको थियो । तर यो वर्ष ६ प्रतिशतले मुल्यवृद्धि भएको छ । मुल्यवृद्धि नभएको होइन, भएको छ तर तुलनात्मक रुपमा कम भएको छ । ‘यो कुरा मान्य सदस्यहले स्वीकार्नुपर्छ’, प्रधानमन्त्रीले भने ।

तुइनः
देशभर १ सय २५ भन्दा बढी तुइनहरु हटिसकेका छन् । अब एक दर्जनमात्र तुइन विस्थापन गर्न बाँकी छ । केही समयअघि मैले साथीहरुलाई भनेको थिएँ, फोटो खिचरे राख्नुस् भनेर । अहिले गल्छीदेखि मुग्लिनसम्म त्यसरी तुइनको जालो देखिँदैन । तुइन पनि हटाउन नसक्ने सरकारले के गर्छ र भन्नुभयो साथीहरुले । हो तुइन नहाटाउने सरकारले के गर्छ भन्नुभयो कुरो ठिक हो । त्यसैले त हामी चाहिएको हो नी ।