४ असोज, खोटाङ ।
खोटाङमा बम फेला परेको छ । सदरमुकाम दिक्तेलस्थित उद्योग बाणिज्य संघका अध्यक्ष राजु लयालुको घरमा बम फेला परेको हो । संविधान घोषणा भएको दोस्रो दिन सोमबार बिहान लयालुको घरको बरन्डामा तार जोडिएको प्लाष्टिकको पोका भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।
लयालुको घरमा संकास्पद बस्तु भेटिएपछि केहिबेर प्रहरीले सुरक्षा घेराभित्र संकास्पद बस्तुलाई सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बिद्यानन्द माझीले बताए । शेर गण मुडेका नेपाली सेनाको डिस्पोजल टोलीले संकास्पद बस्तुको अनुसन्धान गर्दा डेटोनेटर बम रहेको देखेपछि सेनाले सुरक्षित स्थानमा लगेर डिस्पोज गराएको छ ।
यता, उद्योग बाणिज्य संघले संकास्पद बस्तु अध्यक्ष लयालुको घरमा फेला परेपछि आकस्मिक बैठक वोलाएको छ । संघले बिज्ञप्ती समेत निकाल्ने तयारी गरेको बाणिज्य संघले जनाएको छ । संविधान घोषणा भएपछि खोटाङमा भएको बन्दको उद्योग बाणिज्य संघले अबंज्ञा गरेको भन्दै आफ्नो घरमा बम राखेर आफूहरुलाई त्रसित बनाउन खोजेको अध्यक्ष लयालुको भनाई छ । आईतबार भएको बन्दको उद्योग वाणिज्य संघले संविधान जारी भएको दिन दिपावली गर्नुपर्छ बन्द सधैका लागि बन्द गर्नुपर्छ भन्दै आफ्ना व्यवसायीहरुलाई सुझाएको थियो ।
अध्यक्ष लयालुले भने—बन्दकर्ताले बजार बन्द गर्दै हिडेपछि संघले बजार खुलाउन बजारबासीलाई आग्रह गरेको हो । संघले बजार खुलाउन आग्रह गरेपछि बन्दकर्ताले बजारमा माईकिङ गर्दै भोलि के–के हुन्छ यसको जिम्मेवार उद्योग बाणिज्य हुनुपर्छ भन्दै बन्दकर्ता हिडेको उनको भनाई छ ।
प्रहरीको गस्ती टोली रातभर परिचालन भएको र शंकास्पद बस्तु बिहान ३ बजेभन्दा पछाडी राखिएको हुनसक्ने माझिको अनुमान छ । शंकास्पद बस्तु भेटिएपछि प्रहरीले नेपाली सेनालाई खबर गरेका थिए ।