१५ भदौ, काठमाडौं ।
केही समय अघि एमाओवादी अध्यक्षका प्रचण्डलाई हत्या गर्नु पर्ने अभिब्यक्ति दिएर गृहमन्त्रालयको समेत ध्यान तानेका विवादास्पद जनजाति अभियान्ता आङकाजी शेर्पाले गृहमन्त्री बामदेव गौतमलाई मृत्यु दण्ड दिने घोषणा गरेका छन् ।
मनलाग्दी बोल्ने गरेका आङकाजीले प्रतिगामी संविधान बनाउनेहरुलाई संविधानसभा भित्र जलाउने र थारुलाई गोली हान्ने आदेश दिने वामदेवलाई मृत्युदण्ड दिने चेतावनी दिएका हुन् ।
यसैगरी उनले बाहुनका शालिकहरु तोड्ने अभियान शुरु भएको भन्दै तस्विर समेत सार्वजनिक गरेका छन् ।
केही दिन अघि मात्र आङकाजीले केपी ओली र बामदेव गौतममाथि ९ आरोप सार्वजनिक गरेर चेतावनी दिएका थिए ।
उनले केपी ओली र बामदेव गौतमले आदिवासी जनजाति, मधेसी नेताहरुलाई गिरफतार गर्ने तयारी र सादा पोषकमा प्रहरी खटाएर ईनकाउण्टर गराएर हत्या गर्ने विशेष योजना बनाएको, थारु, मधेसी र आदिवासीहरु आतङकारी देशद्रोही हुन गोली ठोकेर मार्न वामदेव गौतमलाई के पी ओलीले आदेश दिएको, थारु जातीका प्रहरी, सत्रशस्त्र प्रहरी तथा सेनहरुलाई कैलाली र तराइमा नखटाउन सुरक्ष परिषदको गोप्य आदेश दिएको लगायतका आरोप लगाएका थिए ।
त्यसैगरी उनले विभिन्न सञ्चार माध्यमलाई पहिचानविरोधी सञ्चार माध्यमको सज्ञा दिँदै उनकै शब्दमा ‘पहिचान विरोधी सञ्चार माध्यम कान्तिपुर, इमेज, एभिन्युज र माउण्टेन टिभिलाई थारु, आदिवासी, मधेसीका आन्दोलनलाई बदनाम गराउने भ्रमित समचार सम्प्रेषण गर्न राजवादी शक्ति केन्द्रबाट करोडौ रकम वितरण गरिएको आरोप समेत लगाएका थिए ।
त्यसैगरी उनले प्रचण्डले १३ हजार शहिदका सपना भुलेर अव बेबीकिङ मान्न तयार भएको तथा बाबुराम भट्टराईलाई छोडेर खुमबहादुर र चित्रबहादुरसँग मिलेर पार्टी खोल्न समेत तयार भएको आरोप समेत लगाएका थिए ।
उनले यस्तो चेतावनी दिएपछि गृहमन्त्रालयले समेत यसबारे बुझ्न प्रहरी परिचालन गरेको थियो ।
आङकाजी विभिन्न समयमा विभिन्न विवादास्पद अभिब्यक्ति दिएर चर्चामा रहिरहने जनजाति अभियान्ता हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि हत्या गर्ने चेतावनी दिएका थिए ।