काठमाडौं ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समय समयमा भन्ने गरेका गर्छन्, ‘मलाइ घेराबन्दीमा पारियो’ । पार्टी भित्रको राजनीति होस् वा राष्ट्रिय राजनीति प्रचण्डले आफू घेराबन्दीमा परेको कुरा पटक पटक बताएका छन् । तर अहिले भने लाग्छ प्रचण्ड होइन उनी भन्दा पनि बढी घेराबन्दीमा छन् कुनैबेलाका उनका कटु आलोचक तर अहिले मित्र बनेका प्रधानमन्त्री केपी शर्मा ओली ।

राजनीतिमा स्थायी दुश्मन र दोस्ती हुँदैन भन्ने भनाइलाई चरितार्थ गर्दै आफै प्रस्तावक बसेर प्रचण्डले प्रधानमन्त्री बनाएका ओली यतिबेला प्रचण्ड भन्दा पनि नराम्रो घेराबन्दीमा परेका छन् ।

Oli sad

शुक्रबार राजधानीमा आयोजित निजामति सेवा पुरस्कार बितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले बिडम्बनापूर्ण अवस्थामा हनिमुन मनाउन बाध्य भएको बताए । आफूमाथि भएको नाकाबन्दीको खुइइय ! जस्तै गरी ओलीले भने ‘म प्रधानमन्त्री हुनुभन्दा पहिलेदेखि नै ग्यास थिएन, पेट्रोल थिएन नाकावन्दी थियो मैले त सोचेको थिए म प्रधानमन्त्री भएपछि सब ठिक हुन्छ तर अझै सहज हुन सकिरहेको छैन । तर सरकारले काम गर्न सकेन भनेर आलोचना गर्ने समय चाँहि भएको छैन । प्रधानमन्त्री ओलीको निराशाजनक अभिब्यक्तिका कारण धेरै छन् ।

KP Oli samsad

सत्तामा नबसेपनि सत्तामा प्रभाव राख्न खोज्ने प्रतिपक्षी दल नेपाली कांग्रेस, आन्दोलनमा आफै बल नभएपनि भारतीय नाकाबन्दीले मुतको न्यानो अनुभव गरिरहेका मधेशवादी दलहरु र नेपाललाई निचोरेर दुःख दिन हौसिएको भारतको स्वार्थ ओली सरकारका विरुद्ध एकै ठाउँ भएको छ । एजेण्डा फरक फरक भएपनि आफ्नै सरकारका पालामा नाकाबन्दी भोगेको कांग्रेसले समेत ओली सरकारलाई च्याँप्नका लागि मधेश आन्दोलन र भारतीय नाकाबन्दीलाई नै हतियार बनाउन खोजेको देखिन्छ । मधेशी दलहरुलाई सहमतिमा ल्याउन नसकेपनि उनीहरुकै मत पाएर समेत प्रधानमन्त्रीमा ओलीसँग पराजित भएका सुशील कोइरालाको पार्टीले ओली सरकारलाई समस्या समानमा सघाउनुको साटो असहयोग हुँदै असफल पार्ने रणनीति तय गरेको बुझ्न कठिन छैन । महत्वपूर्ण मानिएको मधेशी मोर्चासँगको राजनीतिक वार्तामा ढिलो थाहा भएको सतही कारण देखाउँदै कांग्रेस सहभागी नहुनु बरु पुनः निर्माण प्राधिकरणमा आफ्नो मान्छे राख्न दवाव दिनुले यसै कुराको संकेत गर्छ ।

ओली उदार बन्दा कांग्रेस अनुदार

प्रधानमन्त्री ओली यसै पनि ओलीमाथि शुरु देखि नै मधेश मुद्धामा अनुदार बनेको आरोप लागिरहेको छ । तर देशको नाममा गरेको सम्बोधन तथा पछिल्लो पटक आयोजित मधेशी दलहरुसँगको वार्तामा ओलीले लचकता बोलीमा मात्र होइन ब्यवहारमै समेत देखाएका थिए । प्रचण्डले राखेको प्रस्तावमा करिव करिव सहमत भएर ओली सहमतिका लागि तयार भएका थिए । मधेशलाई पर हुन नदिन भनेर प्रधानमन्त्रीको उम्मेदवारी दिएको दावी गरेको नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले त्यतिबेला भने मधेशसँगको वार्ता मिल्नबाट रोके जतिबेला दुवै पक्ष सहमति गर्ने मुडमा प्रस्तुत भएको थियो । मोर्चाका माग पुरा गर्न सडक आन्दोलन गर्ने कांग्रेसको घोषणाले ओली सरकारप्रतिको कांग्रेसी रबैया प्रष्टिएको छ ।

प्रचण्डको अर्को एउटा ‘बोल्ड डिसिजन’ को पर्खाइमा देश

काँग्रेसले मधेशको मुद्धालाई समाधान गर्न कर्मकाण्डी संविधान संसोधनको अडान दोहोराइरहेको भएपनि उसको भित्री चाहाना पुनः निर्माण प्राधिकरणमा आफूले नियुक्त गरेका गोविन्द पोखरेलले नै निरन्तरता पाउन र आफ्नो सरकारका पालामा गरिएका विभिन्न नियुक्ती बदर नहुन् भन्ने देखिन्छ । ओलीलाई अनुदार भनेर आलोचना गर्नेहरुले समेत ओली उदार भएको महसुस गर्दा आफूलाई उदार दावी गर्ने कांग्रेस भने भयानकरुपमा अनुदार प्रस्तुत भैरहेको छ । ओली सरकारलाई असहयोग हुँदै असफल पार्ने र विकल्प खोज्ने अवस्थामा देशलाई पुर्‍याउने रणनीति कांग्रेसको देखिन्छ । पहिलो ठूलो दल भएर पनि सत्ता बाहिर बस्नु परेको पीडा र रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने रहरले यहाँनिर काम गरेको कतिपय विश्लेषकको बुझाइ छ ।

मधेशी मोर्चा र भारत
मधेशी मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दी एक अर्काका पुरक जस्ता बनेका छन् । आन्दोलनमा बल नै नभएपनि भारतको नाकाबन्दीको सहारा लिएको मधेशी मोर्चाको आन्दोलन भारतलाई नाकाबन्दी लम्बाउने बहाना बनिरहेको छ । यी दुष्चक्रले ओली सरकारलाई भने हनिमुन पनि मनाउन नदिनेगरी पिरोलिरहेका छन् ।

भारतीय मिडियाको खुलासा- मधेशी नेताले भारतलाई भने तराइ भारतकै हो

मधेशी मोर्चको ओली सरकार ढाल्ने स्पष्ट चाहाना नभएपनि उनलाई हराउनकै लागि प्रधानमन्त्री चुनावमा सहभागी भएको घोषित नीतिले ओली सरकार हुँदा सम्म मधेशका समस्या समाधान हुँदैन भनेर स्थापित गर्न खोजिएको भने प्रष्ट छ । कांग्रेस सरकारकै पालामा आन्दोलन शुरु गरेको मधेशी मोर्चाले अव आएर कांग्रेस नभइ समस्या समाधान हुँदैन भनेर अड्को थाप्ने र ओली सरकारलाई जति सक्यो उति छिटो विदा गराउन चाहेको भारतीय नीतिलाई बल दिने काम भैरहेको छ ।

Madhesi Morcha Press Conference

पार्टीकै प्रतिपक्ष
ओलीलाई आफ्नै पार्टीबाट पनि सजिलो छैन । मधेशी मोर्चासँग वार्ता मिल्छ भने प्रचण्डको प्रस्ताव मान्छु भनेर कँस्सिएका ओलीलाई उनकै पार्टीका नेताहरुले सीमाङ्कनमा फेरबदल गर्न सकिँदैन भनेर झट्का दिए । उनका प्रमुख प्रतिद्वन्दी माधव नेपाल मात्र होइन उनका सहयोगी समेत बनेका झलनाथ खनाल समेत सीमाङ्कनको पुनरावलोकनमा अनुदार प्रस्तुत भए ।

यी परिदृष्यले ओलीलाई चौतर्फी घेराबन्दीमा पारिएको कुरा प्रष्ट छ । यसले ओली सरकारलाई निकम्मा सावित गर्ने र विकल्प खोज्नका लागि प्रत्यक्ष र परोक्षरुपमा धेरै थरी केन्द्रहरु लागिरहेको पनि पटाक्षेप भएको छ । यो घेराबन्दीकाबीच उनले आफ्नो सत्ता कति समय टिकाउन सक्छन् र देशका समस्या समाधान गर्न सक्छन् भन्ने चाँहि चासोको विषय हो ।