२२ साउन, काठमाडौं । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले काठमाडौं उपत्यकाभित्रको प्लास्टिक नियन्त्रणको लागि चाउचाउको खोल फिर्ता गर्दा १ रुपैयाँ दिनुपर्ने प्रावधान ल्याउनुपर्ने बताउनुभएको छ । प्लास्टिकजन्य फोहोरको दिर्घकालिन निकासका लागि चाउचाउ लगायत अन्य प्लास्टिक फिर्ता गर्दा थोरै भएपनि रकमको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

सांसद महेश बस्नेत

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद् बस्नेतले धूलो नियन्त्रण गर्न बालुवा, ढुंगा बोक्ने गाडी शहरभित्र प्रतिबन्ध लगाउनुपर्नेतर्फ जोड दिनुभयो । ‘काठमाडौंको शहरभित्र बालुवा, ढुंगा बोक्ने गाडी रोकौ‘, उहाँले भन्नुभयो, ‘त्यति गर्न सकियो भने काठमाडौंको धूलो हिलो कम हुन्छ ।’

सांसद बस्नेतले खानेपानी मन्त्री बिना मगरले पेश गर्नुभएको विधेयक सकारात्मक भएको बताउनुभयो । ‘विधेयकमा धेरै राम्रो कुरा आएको छ, मन्त्रीको अध्यक्षतामा शक्तिशाली आयोग गठन, पानी नआउँदा महशुल तिर्न नपर्ने’ राम्रा कुरा आएका छन्’ उहाँले भन्नुभयो, ‘मानव मलमुत्रलाई ग्यासप्लान्टको रुपमा प्रयोग गरौ ।’