३१ साउन, काठमाडौं । रबि लामिछानेका समर्थकहरुले चितवन प्रहरी चौकीमा आक्रमण गरेका छन् । साँझ पर्दै गएपछि उग्र बनेका समर्थकहरुले चितवन प्रहरी चौकीमा ढुङ्गा हानेर आक्रमण गरेका हुन् ।

प्रदर्शनकारीको आक्रमणबाट ५ प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीहरुको भीड उत्तेजित बनेपछि भीडलाई तितरबितर पार्न प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गरेको छ । यसअघि जिल्ला अदालत चितवनले रबि लामिछाने लगायत पक्राउ परेका तीनैजनालाई अनुसन्धानकाे लागि ५ दिनकाे म्याद थपेकाे थियाे ।

शालिकराम आत्महत्या प्रकरणमा रबि लामिछानेलाई बिहीबार पक्राउ गरेसँगै शुक्रबार बिहानैदेखि चितवनको माहोल तातिएको थियो । रबि लामिछानेका समर्थकहरुले दिनभर जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला अदालत चितवन अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियोमा आफ्नो मृत्युको दोषी रबि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की भएको बताएका थिए । सोही भिडियोका आधारमा तीनैजनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको हो ।