२ असार, रत्ननगर (चितवन) ।
दुर्लभ वन्यजन्तुको वासस्थान रहेका चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ ।
नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २० दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।
यसअघि चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिलोमिटर रहेकोमा ३८ बर्षपछि क्षेत्रफल थपिएर अहिले ९५२ दशमलव ६३ वर्गकिलोमिटर भएको उनले बताए। निकुञ्ज स्थापनापछि क्षेत्रफल बृद्धि भएको यो दोस्रो पटक हो ।
विसं २०७३ सालमा राजपत्रमा प्रकाशित सुचनानुसार नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ दफा ३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सिमा हेरफेर गरिएको जनाईएको छ । २०६० सालतिर निकुञ्जको पुर्वी सेक्टरमा पर्ने पदमपुर गाउँलाई स्थानान्तरण गरिएको थियो । सरकारले स्थानान्तरण गरेको पुरानो पदमपुर क्षेत्रलाई जोडेर निकुञ्जको सिमा बढाईएको अर्यालले जानकारी दिए।
निकुञ्ज स्थापना हुँदा २०३० सालमा ५४४ वर्गकिमी क्षेत्रफल रहेकोमा त्यसको पाँच बर्ष पछि अर्थात् २०३५ सालमा यसको क्षेत्रफल बढेर ९३२ वर्गकिलोमिटर र अहिले आएर निकुञ्जको क्षेत्रफल ९५२ दशमलव ६३ वर्गकिलोमिटर भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज विश्व संरक्षण सूचिमा छ । नेपालको पहिलो संरक्षित क्षेत्र चितवन निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तुहरुको मुख्य बासस्थान क्षेत्र भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । यहाँको भौगोलिक बनावट पनि विश्वकै लागि फरकखालको रहेको उनले भने ।
क्षेत्रफल बढेसँगै वन्यजन्तुको संरक्षणमा थप टेवा पुग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउँछन् । चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लामा पर्ने यो निकुञ्जमा पछिल्लो गणना अनुसार गैंडा ६०५, बाघ १२०, गौरीगाई ३६८ रहेका छन् । त्यस्तै विभिन्न प्रजातिका सयौ वन्यजन्तु र चरा यस निकुञ्जमा पाउने गर्छन् । यसको मध्यवर्ती क्षेत्रफल भने ७२९ वर्गकिलोमिटर छ । रासस