९ असोज, काठमाडौं ।

मधेसी मोर्चाको आन्दोलनका क्रममा इटहरीमा चिनियाँ झन्डा जलाइएपछि त्यसले मधेसी नेताहरूबीच फाटो ल्याउनुका साथै राष्ट्रिय तहमा पनि आलोचना निम्त्याएको छ।

मोर्चाको बैठकमा समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यसका लागि चीनसँग माफी माग्नुपर्ने अडान राखेका थिए। बुधबार राजविराजमा बसेको मोर्चा बैठकमा यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच झन्डा जलाइएको प्रकरणमा चर्काचर्की परेको थियो।

UpendraYadavRajendraMahatoMahantaThakurयादव पक्षले चिनियाँ झन्डा जलाउने मोर्चाका कार्यकर्तालाई राज्यले छानबिन गरी कारबाही गर्नुपर्ने बताएको छ भने महतो पक्षले संविधानको चीनले स्वागत गरेको आक्रोशमा जनसमुदायबाट भएको कार्य जायज रहेकाले धेरै विवाद जरुरी नभएको दाबी गरेको छ।

मोर्चा बैठकपछि बुधबार जारी वक्तव्यमा चिनियाँ झन्डा जलाउने कार्यको भत्र्सना गर्दै यस्ता कार्य आन्दोलनको नीतिविपरीत रहेको उल्लेख थियो। मोर्चाका एक नेताले भने, ‘कुनै पनि मित्रराष्ट्रको झन्डा जलाउने र त्यहाँका नागरिकमाथि अमर्यादित व्यवहार आन्दोलनको उद्देश्य हुनै सक्दैन।

आन्दोलनको एकमात्र उद्देश्य प्रमुख तीन दलले एकपक्षीय रूपमा जारी गरेको संविधानको विरोध गर्नुमात्र हो।’ मोर्चामा संघीय समाजवादी फोरम नेपाल, तराईमधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराईमधेस सद्भावना पार्टी छन्।

मोर्चाका एक शीर्ष नेताले भने, ‘चिनियाँ राष्ट्रिय झन्डा मोर्चा संलग्न दलले जलायो भन्नु मधेस आन्दोलनविरुद्ध प्रोपोगन्डा हो।’ उनले विदेशमा भए मित्रराष्ट्रको झन्डा जलाउने कार्यलाई राज्यले गम्भीर रूपमा लिँदै कारबाही गरिसक्ने बताए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।