बलिउडका हाँस्यकलाकार जोनी लिभर कुनै समय मुम्बइको सडकमा कलम बेच्थे। अहिले बलिउडकै चर्चित हाँस्यकलाकारको नाममा जोनीको नाम आउँछ।
पर्दामा उनले जति मनोरञ्जन गराउँछन् उनको वास्तविक जिन्दगीमा जोडिएका कुरा त्यो भन्दा बढी रोचक छन्। उनको थरनै लिनुसो, लिभर। हामी उत्तोलक भन्छौ। कुनै वस्तु सजिलोसंग उचाल्न प्रयोग गरिने वस्तु। उनकै कार्यक्षेत्र मुम्बइमा एक कम्पनी छ, हिन्दुस्तान लिभर कम्पनी। जोनी आफ्ना पितासंग कुनै समय सोही कम्पनीमा काम गर्थे। कामको साथ साथ कमेडीमा पनि दख्खल राख्ने जोनी त्यहाँ सगै काम गर्ने साथीहरुलाई हँसाइरहन्थे। सोही ठाँउमा काम गर्दा गर्दै उनको नाम ‘जोनी लिभर’ रहन गयो। पत्याउनु हुन्छ, काम गर्ने कम्पनीको नामबाटै चर्चित बने जोनी बलिउडमा। वास्तवमा जोनीको नाम जोन प्रकाश राव जनुमाला हो।
आर्थिक स्थिती राम्रो नभएका कारण जोनी धेरै पढ्नसकेनन्। उनले आन्ध्र प्रदेश स्थित एक तेलेगु स्कुलमा सात कक्षासम्म पढेका थिए। सानै उमेरमा मुम्बइ आइपुगेका जोनीले गुजारा गर्न अनेक काम गर्ने गर्थे। मुम्बइको सडकमा कलम बेच्थे जोनी। बलिउडका गीतमा नाँच्दै, अन्य कलाकारको क्यारिकेचर गर्दै जोनी सडक पेटीमा कलम बेच्थे।
५८ वर्ष पुगिसकेका जोनी सन् १९५७ अगस्ट १४ मा आंध्रप्रदेशको कनिगिरीमा जन्मेका थिए। सन् १९८४ बाट बलिउडमा पाइला टेकेका जोनीले १३ पटक ‘फिल्म फेयर बेस्ट कमेडियन’को अवार्डको लागि नोमिनेसनमा परिसकेका छन् भने दीवाना मस्ताना र दुल्हे राजाको लागि अवार्ड जितिसकेका छन्। उनले अहिलेसम्म ३५० भन्दा बढी फिल्म खेलिसकेका छन्।
एक पटक जोनी अमेरिकामा कार्यक्रम आयोजना गर्न पुगेका थिए। कार्यक्रम सकिएपछि फ्यानहरुले उनको अटोग्राफको लागि उनलाइ घेरे। यो देखेर बलिउडका दिलीप कुमारले भने, ‘जोनी…यार तिमी त स्टार बन्यौं,स्टार…।’