१५ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत कप्तान बनेकोमा मल्ललाई बधाई दिँदै प्रधानमन्त्री ओलीले मल्लको कप्तानीमा नेपाली क्रिकेटले नयाँ उचाई पाउनेमा विश्वास व्यक्त गरेका छन् । ‘नेपाली क्रिकेट टोलीको कप्तान छानिनु भएकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु’, प्रधानमन्त्रीले भनेका छन्, ‘उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वाससहित शुभकामना व्यक्त गर्दछु ।’

पारस खड्काले कप्तानीबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले मल्ललाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो । मल्ल विगत १४ वर्षदेखि लगातार क्रिकेट खेल्दै आएका मल्लले १० वर्षदेखि नेपाली टीमको उपकप्तानको जिम्मेवारी सम्हाल्दै आएका थिए । अहिले भने उपकप्तानको जिम्मेवारी क्यानले दिपेन्द्रसिंह ऐरीलाई दिएको छ ।