२ मंसिर, एजेन्सी । भारतका एक डाक्टरले आफू ज्युँदै रहेको प्रमाणित गर्न पत्रकार सम्मेलन गर्नु परेको छ । कालो धन जम्मा गरेकाले उनको घरमा छापा मारियो र हृदयघातका कारण उनको मृत्यु भयो भन्ने हल्ला चलाइएकाले उनले सो पत्रकार सम्मेलन गर्नु परेको हो ।
पत्रकार सम्मेलनमा डाक्टर आर.वि. सिन्हाले भने ‘मेरो इज्जतको धज्जी उडाइयो र हल्ला फिंजाइयो कि कर अधिकारीले मेरो घरमा छापा मार्दा हृदयघात भएर मेरो मृत्यु भयो भनेर ।’ मंगलवार स्थानीय सञ्चार माध्यमले विहारको छपरा जिल्लाका ५६ वर्षीय डा. सिन्हाका घरमा छापा मारेको कुरा प्रचार –प्रसार गरेको थियो । समाचारमा उनको घरमा ६ करोड रुपैयाँ कालो धन राखेका थिए भन्ने उल्लेख गरिएको थियो ।
डा. सिन्हाले भने ‘यो समाचार संपूर्ण रुपमा निराधार हो ।’ एक टिभी च्यानलका एक क्यामेरा म्यान घरमा आएर आफु खुसी फुटेज खिच्न थाले र सो समाचार सामाजिक सञ्जालसहित स्थानीय सञ्चार माध्यममा प्रकाशन–प्रशारण गरे । समाचारमा त अझ बढाएर हृदयघातबाट उनको मृत्यु भएको प्रवाह गरियो । आफूले स्थानीय दुई टिभी च्यानल र एक समाचार वेभसाइटविरुद्ध उजुरी दर्ता गरिसकेको उनले बताए ।
भारतीय सञ्चार माध्यमले हजार र पाँच सयको नोट प्रतिवन्ध लागेपछि कयौं मानिसको मृत्यु भएको समाचार प्रकाशन –प्रशारण गरिरहेका छन् । समाचारमा मर्नेमा त्यस्ता मानिसहरू छन् जो नोट सटही गर्न बैंकमा लाई लागेका र नगद अभावका कारण औषधी उपचार गर्न नपाउनेहरू रहेका छन् ।
सरकारले हजार र पाँच सयका नोटमा प्रतिवन्ध लगाएपछि मानिसहरू नगद साट्न दौडधुप गरिरहेका छन् । बैंकमा नोट सटही गर्न लाइन लाग्नेको लामो ताँती नै लागेको छ । सरकारले कालो धनमाथि नियन्त्रण गर्न यस्तो कदम चाल्नु परेको बताउँदै आएको छ ।