३१ भदौ, काठमाडौं । मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा मंगलबार बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरियो । बिहान ७ः०० बजेतिर नगरपालिकाका वडा नं २ हर्से र वडा नं १ र २ को सिमाना जोरपाटीमा सिम्रिक एयरका दुई हेलिकप्टर र मनाङ एयरको एक, कैलाश एयरको एक हेलिकोप्टर आकस्मिक अवतरण गरिएको थियो ।

लुक्ला विमानस्थलबाट काठमाडौँका लागि उडेका हेलिकोप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण गरिएको थियो । चार हेलिकोप्टरमा १८ यात्रुमध्ये १६ विदेशी र दुई नेपाली थिए । बिहान उनीहरुलाई स्थानीयले खाना खुवाए भने प्रशासनले गाडी चढाएर काठमाडौं पठाइदियो ।

तर हेलिकप्टर भने ९ घण्टा पछि मात्रै त्यहाँबाट उड्यो । मौसमको खराबीको कारण हेलिकप्टरहरु त्यहाँबाट उड्न सकेन । बेलुकी साढे ४ बजेतिरमात्रै काभ्रेमा अवतरण गरेका सबै हेलिकोप्टर काठमाडौंका लागि उड्यो । तर दिउँसो खेतमा अवतरण भएको हेलिकप्टरलाई हेर्न त्यहाँ स्थानीयको भीड नै लाग्यो । पानी परे पनि स्थानीयले छाता ओड्दै हेलिकप्टर हेर्न भ्याए । हेरौँ तस्बिरहरुः