२१ असोज, काठमाडौं । सरकार र नेपाल चिकित्सक संघ बीच भएको सम्झौताको विरोधमा डक्टर्स सोसाइटी अफ नेपाल लगायत ११ चिकित्सक संगठनले आज हेल्मेट लगाएर विरामीको उपचार गरिरहेका छन् ।

आज उनीहरुले काठमाडौंमा हेल्मेट जुलुस पनि निकाले । सरकार र संघबीच भएको सहमतिप्रति विरोध जनाउँदै आएका संगठनले काठमान्डौको माइतीघरदेखि बानेश्वरसम्म हेल्मेट र्याली गरेका हुन् । बिरामीलाई मर्का नपर्ने गरी सांकेतिक रुपमा सरकारलाई दवाब दिन हेल्मेट र्याली गरिएको आन्दोलन टास्क फोर्सका संयोजक डाक्टर कालुसिंह खत्रीले बताए ।

उनीहरुले गएको असोज १७ गतेदेखि हातमा कालोपट्टी बाँधेर हेल्मेट लगाई बिरामीको उपचार गरिरहेका छन् । चिकित्सकको निवृत्त उमेर ६५ वर्ष पुर्याउने निर्णय खारेज गरिनुपर्ने, चिकित्सक संघसँग भएका सम्झौता पालनाको क्रममा गठन हुने हरेक समितिमा सरकारी र गैरसरकारी चिकित्सकबाट एक/एक जना प्रतिनिधि अनिवार्य संलग्न गराउनुपर्ने उनीहरुको माग छ ।

तर उनीहरुको दबाब कार्यक्रम फितलो देखिएको छ । बृहत् हेलमेट जुलुस भनिएपनि ¥यालीमा न्युन सँख्यामा डाक्टरको उपस्थिति थियो ।