बासु सत्याल ।

कोजाग्रत पूर्णिमासँगै यस वर्षको बडा दसैं सकिएको छ । दसैको अवसरमा लाग्ने मेला पनि सकिएका छन् । भेटघाट, छलफल र भलाकुसारी पनि सकिएका छन् । दसैं मनाएर सबै आ आफ्ना काममा फर्केका छन् ।

अब तिहारको तयारी र जोहोको सुरसार सुरु हुने छ । तर, दसैंको मेसोमा लाग्ने एउटा मेला भने यसै हप्ता काठमाडौंमा सुरु हुदैछ । मेलामा सहभागी हुन विभिन्न देशमा बसोबास गर्ने आप्रवासी नेपालीहरु धमाधम काठमाडौं हानिँदै छन् । कतिपय त दसैं मान्न यसअघि नै नेपाल पुगिसकेका छन् ।

गैर आवासीय नेपाली संघ अर्थात आप्रवासी नेपालीहरुको संगठन । हो यही संगठनको सम्मेलन हुँदैछ, यसै हप्ता काठमाडौंमा । संघको इतिहासले दशक नाघिसकेको छ । संघको पहुँच लगभग विश्वभर फैलिएको छ ।

जो बाहिर ऊ गैरआवासीय भएको छ । विधानमा संभवतः दुई वर्ष अवधि भन्ने छ क्यारे, त्यसको पनि पर्वाह छैन । जुनसुकै मुलुकमा संघको चुनाव अघि पुग्नेहरु करिव करिव यो संगठनको सदस्य बनेका छन् ।

आखिर संगठन विस्तारको कुरा जो छ । अवसर पनि राम्रै । दसैं पनि मानिने । भेटघाट पनि हुने । रमाइलो पनि मनाइने । अनि नेता पनि छानिने । प्रवासी नेपालीहरुको लागि यो गज्जवको चलन । देशप्रेम र लगानीको त बाढी नै चल्छ, यो बेला ।

रेमिट्यान्सले दसैं त रमाइलो हुन्छ नै, लाग्छ, सरकार र आम नेपालीलाई प्रवासीले उत्सव नै ल्याइदिएका छन् । यति भन्दै गर्दा विदेशमा पसिना बगाएर परिवारमा आशा जगाउनेहरु अपमान भने पटक्कै गर्न खोजिएको होइन ।


अधिकांश नेपालीको गाँससँग जोडिएको रेमिट्यान्स भित्र्याउने पौरखी हातहरुलाई भने सलाम भन्नै पर्छ । जसले पसिना बगाएर पौरख गरेको छ, त्यसलाई काठमाडौंका तारे होटेलमा हुने लाहुरे भेलामा सहभागी हुने अवसर भने बिरलै जुट्छ ।

जबसम्म ती पौरखी ज्यानहरुलाई ती भेलामा सहभागी गराउन सकिँदैन, जबसम्म यस्ता भेला रमाइलो गर्ने मेला नै रहिरहने छ । मान्छे रहरले विदेशिँदैन, बाध्यताले विदेशिन्छ भन्ने आम कथन छ ।

रहर र बाध्यताका परिभाषा पनि अनेक छन् । आफूखुशी परिभाषा गर्न पनि सकिन्छ । रहर र बाध्यता पनि स्तर र हैसियत हुने रहेछ । कसैलाई गुजाराको बाध्यता, कसैलाई महलको बाध्यता, कसैलाई परिवारमा हाँसो ल्याउने रहर, कसैलाई कपाल रंग्याएर गोजीमा डलर राख्ने रहर । कसैलाई समाजबाट भाग्नुपर्ने बाध्यता, कसैलाई समाजमा स्थापित हुनुपर्ने बाध्यता ।

सज्जनहरु पनि विदेशमा, बद्मासहरु पनि विदेशमा । सबैको साझा रहर अनि साझा बाध्यता विदेश । कुरा फेरि गैरआवासीय नेपाली संघकै । राजनीतिक रुपमा संघले ठूलै फड्को मारिसकेको छ । दोहोरो नागरिकता, दोहोरो राहदानी । जता गयो उतैको नागरिक । आर्थिक र सामाजिक अधिकारको त के कुरा भो र ? पहिलेदेखि नै छँदै थियो । अब जता गयो, उतै मालामाल ।

कतै विभेद नहुने । एक देशको नागरिक सिंगो विश्वको नागरिक । नेपाली प्रवासीहरुले प्राप्त गरेको (अधिकांश) र प्राप्त गर्न खोजेको (केही बाँकी) सबैभन्दा ठूलो उपलब्धी यही हो, जुन अरु देशका आप्रवासीहरुले सायदै पाउलान् ।

सन्दीप क्षेत्री, हाँस्य कलाकार । बहुरुपी छन्, उनी । हसाँउछन् । व्यंग्य गर्छन् । उनको प्रस्तुतिमा देशमा होस् वा विदेशमा सबै मरिमरी हाँस्छन् । केही महिना अघि उनले एउटा कार्यक्रममा एउटा गीत गाए, यो मन त नेपाली हो……. ।

उनले पछि थपे, यो ज्यान पनि नेपाली हो, मन पनि नेपाली हो, नागरिकता पनि नेपाली हो अनि मेरो पासपोर्ट पनि नेपाली हो । सोधे तपाईहरुको पासपोर्ट पनि नेपाली हो ?

संयोगवस उनको उक्त कार्यक्रम विदेशमै थियो, जहाँ कार्ड र पासपोर्टको लागि हजारौं नेपालीहरुले मरिहत्ते गरिरहे छन् । सन्दीपले रमाइलाको लागि यो पस्तुति दिए होलान्, सहभागीहरुले ताली बजाए, मज्जाले हाँसे, सिठी फुके, तर, त्यसको मर्म बुझ्ने प्रयास भने कसैले गरेनन् । (सत्याल हाल पोर्चुगलमा छन्)

Advertisements