४ असोज, काठमाडौं।

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले संविधान जारी भएसँगै जटिलताहरुको सामाना गर्न अझै २÷४ वर्ष लाग्ने बताएका छन् ।

कमलबिनायकस्थित आफ्नो निवासमा नेपालको संविधान जारी भएसँगै सम्भावित जटिलताका विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै विजुक्छेले संविधान जारी गर्नुअघि राजनीतिक दलहरुले संघीयताका विषयमा जनतालाई बुझाउन नसकेकाले कार्यान्वयनमा २÷४ वर्ष लाग्ने बताएका हुन् ।

नेपालका दुई छिमेकीमध्ये उत्तरले संविधान जारी हुनुलाई सकारात्मक रुपमा लिएता पनि दक्षिणले आफ्नो हितअनुकुल पाउन नसक्दा मौन रहेको बिजुक्छेको भनाइ थियो । अध्यक्ष बिजुक्छेले विगतदेखि नै दक्षिणको प्रभावमा झेलिएका शीर्ष नेताहरुले संविधान जारीअघि खेलेको भूमिकाकै कारण मुलुकले नयाँ संविधान पाएकोले कानुनी राज्यको सुरुवात र राजनीतिक संक्रमणको अन्त्य भएको बताए ।

तराईका विभिन्न जिल्लामा भएको आन्दोलनलाई भारतको सहयोग रहेको बताउँदै विजुक्छेले संविधानमा देश र देशवासीको हितका विषयसमेत हुन्छ र हुन्नमै सीमित रहेको बताए ।