६ कात्तिक, काठमाडौं । नेपालीहरुको दोश्रो ठूलो पर्व तिहार घरदैलोमा आइसकेको छ । तिहार अघि धनवन्तरीको पनि पूजाआजा हुने गर्छ । शुक्रबार धनतेरस पर्व मनाएसँग तिहार घरघरमा प्रवेश गर्दछ । धनतेरसको दिन घरमा चाँदीको आभूषण वा पित्तलको भाँडाहरु किन्नुलाई शुभ मानिन्छ ।

धनतेरसमा मनोकामना अनुरुपको किनमेल गर्नु लाभदायक मानिएको छ । आर्थिक लाभको लागि पानी राख्ने भाँडो किन्नुपर्छ भने कारोबार बिस्तारको लागि धातुको दियो किन्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । सन्तानसम्बन्धी समस्याको लागि थाली वा कचौरा र स्वास्थ्य तथा आयुको लागि धातुको घण्टी किन्नुपर्छ । घरमा सुखः शान्ति र प्रेमको लागि खाना पकाउने भाडाँकुडा किन्नुपर्ने परम्परा रहीआएको छ ।

धनतेरसमा धन्वन्तरी देवको पूजा आराधना गरिन्छ । धनवन्तरीलाई आयुर्वेदको आचार्यको रुपमा परिचित छन् । यिनी देवताका वैद्य हुन् भने धनकी देवी लक्ष्मीको भाइ पनि हुन् । त्यसैगरी यो वर्ष धनतेरसको दिन १ सयवर्षपछि गज्जबको संयोग पनि परेको छ ।

धनतेरस यो वर्ष शुक्रबारको दिन परेको छ भने अर्कोतर्फ यहि दिन शुक्र प्रदोष व्रत पनि हुनेछ । जसकारण शुक्र प्रदोष व्रत र धन त्रयोदशीको महासंयोग परेको छ । यो दिन ब्रम्हा र सिद्धियोग पनि परेको छ । धनतेरसको यो संयोग १ सय वर्षपछि बनेको हो । यसै दौरान धनतेरसमा भगवान शिवको आराधना गर्नाले भाग्योदय हुनेछ ।