९ जेठ, काठमाडौं ।

संसद बैठक सञ्चालन गर्ने विषयमा प्रमुख तीन दलका शिर्ष नेताको बैठक बसिरहेको छ । तीन पटक स्थगित गरेर पनि तोकिएको समयमा संसद बैठक शुरु हुन नसकेपछि तीन दलका नेता छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा अ‍ेलीसहितका नेताहरुको छलफल संसद भवन नयाँ बानेश्वरमा चलिरहेको छ ।

छलफलमा नेकपा एमाले र कांग्रेसका केही नेताहरुले अहिले प्रधानमन्त्रीले राजिनामा दिन नहुने बताइरहेका छन् । पहिलो चरणको निर्वाचन प्रचण्ड नेतृत्वको सरकारले गराएकाले दोस्रो चरणको निर्वाचन पनि यहि सरकारले गराउनु पर्ने उनीहरुको माग छ ।

तर प्रचण्ड भने आजै राजिनामा दिन तयार भएका छन् । उनले आजै राजिनामा दिने जानकारी मन्त्री परिषद्का सदस्यहरुलाई जानकारी गराएर सामूहिक तस्बिर पनि खिचेका थिए ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले हिजो सरकारले बढाएका स्थानीय तहको संख्या उपयुक्त नभएको भन्दै उक्त निर्णयलाई फिर्ता लिन आग्रह गरेको छ ।

मधेस केन्द्रीत दलहरुलाई सहमतिमा ल्याउनका लागि भन्दै सरकारले हिजो दुई वटा उपमहानगरपालिकालाई महानगर बनाउँदै २२ वटा स्थानीय तह बढाउने निर्णय गरेको थियो । एमालेले सरकारको उक्त कदमको विरोध गर्दै फिर्ता नलिए संसद बैठक चल्न नदिने अडान राखेको छ ।

एमालेले अवरोध गर्ने बताए पछि बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजे, ३ बजे हुँदै ५ बजेसम्मका लागि स्थगित भएको थियो । तर संसद बैठक अझै शुरु हुन सकेको छैन ।