१५ चैत, पाल्पा । रैनादेवी छहरा–३, भुवनपोखरी किसानले दानाको अभाव देखाएर र बिक्री हुन छाडेपछि बोइलर कुखुरा जिउँदै गाडेका छन् । लकडाउनका कारण दानाको अभाव र कुखुरा विक्री हुन छाडेपछि यहाँका किसानले बोइलर कुखुरालाई जिउँदै गाडेका हुन् ।
रैनादेवी छहरा गाउँपालिका—३ का वडाध्यक्ष लालबहादुर दर्लामीका अनुसार दोब्बर घाटा हुने डरले किसानले कुखुरालाई जिउँदै जङ्गलमा गाडिएको बताए । जथाभावी कुखुरा फाल्दा दुर्गन्धित हुने त्रास बढेपछि कुखुरा गाडिएको हो । भुवनपोखरी डाडागाउँका चार कुखुरा फार्म र तालपोखरीको एक फार्मबाट छ हजार कुखुरालाई नष्ट गरिएको हो । अठ्ठाईस दिनदेखि ४० दिनसम्म पालेका कुखुरा दुईदेखि तीन किलोसम्म रहेका छन् ।
तानसेन र बुटबलदेखि दाना ल्याउनुपर्ने बाध्यता रहेको थियो । कोरोना रोगको सङ्क्रमणको भयले कुखुरा बिक्री हुन छाडेपछि स्थानीय कुखुरापालकहरु मोहन पौडेल, बेदप्रसाद मरासिनी, खुमानन्द मरासिनी, प्रकाश बोहोरा र धर्म पोडेललगायतले कुखुरालाई जङ्गलमा गाड्नु परेको बताए । रासस