२५ वैशाख, काठमाडौं।

सबैभन्दा ठूलो कांग्रेसबाट अहिले एक उम्मेदवारले निक्कै चर्चा बटुलिरहेकी छिन् । सुन्दरतामात्रै होइन, पेशागत दक्षता, योग्यता र क्षमताको कारण पनि टोखा नगरपालिकामा कांग्रेसको तर्फबाट उप प्रमुख (उपमेयर) बनेकी रजनी थापा चर्चित बनेकी हुन् ।

वर्षौसम्म पार्टीका वरिपरी घुम्ने तर, आफ्नो सीप, क्षमताको विकास नगर्नेका लागि चुनौति थप्दै थापा उम्मेदवार भीडमा पृथक बनेर उभिएकी हुन् । बहुमुखी प्रतिभाकी धनी भएका कारण पनि उनी लोकप्रिय रहेकी हुन् । पढाई, पेशालाई प्राथमिकता दिंदै आएकी थापाले विभिन्न सौन्दर्य प्रतियोगितामा समेत भाग लिंदै आएका छिन् ।

को हुन् रजनी ?
नर्सिङ पढेकी थापा यस अघिदेखि नै नेविसंघका आवद्ध थिइन् । तर, उनले नेविसंघमात्रै भनिनन् । आफ्नो पढाईलाईसमेत अघि बढाइन् । उनी सिटीइभिटीमा ट्रेनर भएरसमेत काम गर्छिन् ।

भाषाकी ज्ञाता
थापामा भाषाको ज्ञान पनि उस्तै रहेको छ । नेपालीबाहेक अंग्रेजी, हिन्दी, चाइनिज, जापानिजमा समेत राम्रो ज्ञान भएकी युवा नेतृ हुन् ।

पढाइमा पनि उस्तै
नर्सिङको अलावा थापाले राजनीतिशास्त्र र अंग्रेजीमा स्नातक र स्नातकोत्तर पनि सकाएकी छिन् । साथै, उनी नेपाल ल क्याम्पसमा एलएलबीकी विद्यार्थी हुन् । उनी ल क्याम्पसमा स्ववियु चुनाव लड्ने तयारीमा भए पनि चुनाव नभएपछि स्थानीय तहको चुनावको प्रतिक्षामा थिइन् ।

के भन्छिन् ?
चुनावी तयारीमा रहेकी थापा ज्ञान, सीप र क्षमता भएमात्रै राजनीतिमा सफल हुन सक्ने धारणा राख्छिन् । आफूमा ज्ञान र क्षमता छैन भने चाहेर पनि योजनाहरुको राम्रोसँग कार्यान्वयन गर्न नसक्ने बताउँछिन् । पुरानो र इतिहासले भरिएको टोखालाई नमूना नगरपालिका बनाउने उद्घोष उनको छ । टोखमा कांग्रेसबाट हरिहर अधिकारी प्रमुख (मेयर)को उम्मेदवार छन् । आफूले जितेपछि पनि राजनीतिलाई नै पेशा नबनाउने उनको तयारी छ । समाजका लागि काम गर्ने तर, आफ्नो पेशालाई निरन्तरता दिने उनी बताउँछिन् ।