८ भदौ, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितीलाई बुझेर अधिकारको वकालत गर्न सबैलाई आग्रह गरेका छन् । सिमाङ्कनको विषयलाई लिएर जारी आन्दोलन हिंसात्मक भएको र संविधानको मस्यौदामा धर्मनिरपेक्षताको क्लिष्ट व्याख्या गरिएको प्रति विभिन्न धर्मका अगुवाहरुको साझा मञ्च धार्मिक चौतारीले बुझाएको ज्ञापनपत्र बुझ्दै ओलीले धर्मनिरपेक्षता तथा धार्मिक स्वतन्त्रताप्रति कुनै सम्झौता नगरिने बताएका हुन् ।

KP Oli making remarks

फाइल तस्बिर

उनले अधिकारसँगै कर्तव्यको बोध हुने अवस्थाको सिर्जना गराउन चौतारी समक्ष आग्रह गरे । मंगलबार ओली निवास बालकोटमा धार्मिक चौतारीका अगुवाहरुले संविधानमा धर्मनिरपेक्षतालाई सुनिश्चित गरिएपनि धार्मिक स्वतन्त्रताको हक अन्तर्गतको उपधारा ३ ले कसैको धर्म परिवर्तन गराउने काम वा व्यवहारलाई दण्डनीय लेखिएकोप्रति आपत्ति जनाएका छन् ।

भेटमा धार्मिक चौतारीका संयोजक सरल श्रेष्ठले सो उपधारालाई हटाउन वा परिमार्जन गर्न अध्यक्ष ओली समक्ष आग्रह गरेका छन् । नेपालले सन् १९९१ मा अनुमोदन गरेको राजनीतिक तथा नागरिक अधिकार सम्बन्धि प्रतिज्ञापत्रको ठाडो उल्लंघन गर्दै मस्यौदामा आएका प्रावधानलाई सच्याएर धार्मिक स्वतन्त्रता कायम गरान धार्मिक चौतारीले विभिन्न दल तथा नागरिक समुदायलाई सचेत पार्दै आएको छ ।