७ कात्तिक, काठमाडौं । धुर्मुससुन्तली फाउन्डेसनलद्वारा निर्माणधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माणको कार्य आजबाट शुरु भएको छ । बुधबार बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेपछि निर्माणमा जुटेको टीमले बिहीबारदेखिनै मैदान सम्याउन थालिसकेको छ ।

आयोजना स्थलमा दुईवटा डोजरहरुले मैदान सम्याइरहेको तस्बिर रंगशाला निर्माणका फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले सामाजिक सञ्जालमा सेयर गरेका छन् । निर्माणको कार्य शुरु भएसँगै उनले अबको दुई वर्षमा रंगशाला निर्माण गरिसक्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने क्रिकेट रंगशाला कमलको फूल आकारको हुनेछ । नेपाली मौलिकता झल्कने रंगशाला ३० हजार जना अट्ने क्षमताको हुनेछ । पहिला २५ हजार दर्शक मात्र अट्ने बनाउने भनिएकोमा ५ हजार क्षमता थपेर डीपीआर तयार गरिएको छ । रंगशालामा दुई भीआईपी प्याराफिटसमेत रहनेछन् ।

‘क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्ड हल पनि निर्माण गरिने छ । ती सबै संरचनाको डीपीआर तयार भएको छ,’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘तर निर्माणको थालनी भने क्रिकेट स्टेडियमबाट हुनेछ ।’ क्रियटिभ डिजाइन आर्किटेक प्रा।लि।को नेतृत्वमा भारतीय र अमेरिकन कन्सल्टेन्सीको सहयोगमा डीपीआर तयार गरिएको हो । तिहारलगत्तै संरचना निर्माणको काम सुरु गर्ने र दुई वर्षभित्र सम्पन्न गर्ने योजना फाउन्डेशनले बनाएको छ ।