४ मंसिर, ललितपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले मंसिर १० गते हुने प्रथम चरणको निर्वाचनको लागि नेपाली कांग्रेस तयारी हालतमा रहेको बताएका छन ।

नेपाली कांग्रेसको केन्द्रीय मिडिया सेन्टरद्धारा आइतबार अपरान्ह पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन ।

कांग्रेस नेता खाँणले दुवै चरणको निर्वाचन सम्पन्न भएपछि पनि मतगणना र समानुपातिकका प्रतिनिधि चयनमा लाग्ने समयका कारण नयाँ सरकार बन्न दुई महिना लाग्ने स्पष्ट पारे ।

“दुवै चरणको निर्वाचन पछि पहिले प्रत्यक्षतर्फको मतगणना हुनेछ । त्यसपछि समानुपातिकको गणना हुनेछ” नेता खाँणले भने, “प्रतिनिधिसभा र राष्ट्रिय सभा सहितको संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत राखिएकोले सो अनुपात मिलाउन निर्वाचन आयोग र राजनीतिक दलहरुलाई लामो समय लाग्ने देखिन्छ । निर्वाचन सकिएको झण्डै २ महिनापछि मात्र नयाँ सरकार बन्न सक्छ । त्यसबेलासम्म यही सरकार रहन्छ ”।

उनले मत गणना र परिणामको लागि पनि धैर्य गर्नुपर्ने र सत्ता हस्तान्तरणमा पनि हतारो गर्न नहुने संवैधानिक व्यवस्था रहेको पनि स्मरण गराए ।

नेपाली कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिचालनको रथ हाकिरहेका नेता खाँणले पार्टीभित्र र अन्य स्वतन्त्र निकायको सूचनाका आधारमा अहिलेसम्म नेपाली कांग्रेसको बहुमत आउने अवस्था रहेको र निर्वाचन पछि नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनका सहयोगी दलहरुको सरकार बन्ने पनि स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा नेता खाँणले नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ निर्वाचन क्षेत्रहरु नेपाली कांग्रेसका उम्मेद्वारहरुको प्रचारप्रसार उत्कर्षमा रहेको पनि बताए ।

उनले ती जिल्लाहरुमा पार्टीले केन्द्रीय प्रतिनिधि खटाइसकेको पनि बताए । केन्द्रबाट गएका प्रतिनिधिहरुलाई जिल्लामा पार्टी र नेताहरुबीच समन्वय गर्ने, प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको बीचमा सुहार्द सम्बन्ध बनाएर संयुक्त रुपमा परिचालन गर्ने, कार्यकर्ता परिचालन गर्ने, तालमेल भएका स्थानमा अन्य पार्टीका नेता र कार्यकता र उम्मेदवारहरुसंग समन्वय गर्ने र पार्टीका उम्मेद्वार र गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर काम गर्ने कार्यादेश दिइएको पनि उनले उल्लेख गरे ।