१७ मंसिर, देवदह(रुपन्देही) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय निर्वाचन परिचालन समितिमा संयोजक बालकृष्ण खाँणले नेपाललाई हिंसा, बन्द, झगडा र कम्युनिष्ट शासन सत्ताको प्रयोगशाला बन्न नदिने उद्घोष गरेका छन ।

संयुक्त लोकतान्त्रिक गठबन्धनद्धारा शनिवार रुपन्देहीको क्षेत्र नम्बर १को देवदह ढेकावर र ओमसतिया गाउंपालिकाको हाटी फर्साटिकरमा आयोजित विशाल चुनावी सभामा नेता खाँणले सो कुरा बताएका हुन ।

पूर्व रक्षामन्त्री समेत रहेका खाँणले विश्वका १ सय ९५ राष्ट्र मध्ये उत्तरकोरिया, भियतनाम, लाओस र क्युवामा मात्र कम्युनिष्ट शासन बाँकी भएको दावी गर्दै नेपालमा कम्युनिष्ट शासनको सपना नदेख्न वाम गठबन्धनलाई चेतावनी दिए ।

उनले लुम्बिनी अंचल र रुपन्देही जिल्लालाई विकासको नमुना केन्द्रको रुपमा विकास गर्ने कांग्रेसको नीति र कार्यक्रम रहेको बताउदै ५ नम्बर प्रदेशलाई समृद्ध प्रदेशको रुपमा विकास गर्ने लक्ष्य रहेको समेत बताए ।

उनले सिंचाइको लागि कालीगण्डकी डाइभर्सन गरेर रुपन्देहीमा ल्याउने बृहत परियोजनाको शुरुआत भएको बताउदै भगवान गौतम बुद्धको मावली स्थल देवदहलाई अन्र्तराष्ट्रिय स्तरकै केन्द्र बनाउने उल्लेख गरे ।

‘काँग्रेसको नियती नै भनौ या बाध्यता जव मुलुक अप्ठ्यारोमा पर्छ ,कठिन अवस्थामा हुन्छ, त्यो बेला काँग्रेसले अरुलाई साथमा लिएर हिड्नु परेको छ’, काँग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले भने, ‘राष्ट्र्रियता र जनताकै उपलब्धि रक्षा गर्न हामीले समय अनुसार राजा, एमाले, माओबादी केन्द्र र अहिले राप्रपालाई साथ लिएका छौ ।’