२५ वैशाख, काठमाडौं।
यतिखेर देशलाई ३१ वैशाखको स्थानीय तहको चुनावले छपक्कै छोपेको छ। १५ वर्षपछि बल्ल हुन लागेकोले पनि चुनावप्रति धेरैको आकर्षण देखिएको छ । यस्तै आकर्षण र उल्लासकाबीच सबैभन्दा ठूलो पार्टी कांग्रेसका दोलखा, रामेछाप र सिन्धुलीका उम्मेदवार को कस्ता छन् त ? यस्तो छ उनीहरुको राजनीतिक जीवनी:
दोलखा
भिमेश्वर नगरपालिका
-ईश्वरनारायण मानन्धर
दोलखाको भिमेश्वर नगरपालिकाका लागि नेपाली कांग्रेसले ईश्वरनारायण मानन्धरलाई प्रमुखको उम्मेदवार बनाएको छ ।
मानन्धर २०४२ सालबाट नेपाली कांग्रेसमा आवद्ध भई त्यसयता पार्टीको नेतृत्वमा भएका हरेक आन्दोलनहरूमा सक्रियताका साथ सहभागी रहेका छन् । उनले नेविसंघको सदस्यका रूपमा राजनीतिमा प्रवेश गरेर तरुण दलको जिल्ला कार्य समिति सदस्य हुँदै अध्यक्ष, केन्द्रीय सदस्य, त्यसपछि सचिवको जिम्मेवारी निभाएका छन् ।
उनि पार्टीको दशौं महाधिवेशन पश्चात लगातार महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको रुपमा रहदै आएका छन् ।
उनि १३ औं जिल्ला अधिवेशनमा पार्टी सभापतिको प्रत्यासी थिए । उनले २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य चुनाव लडेका थिए ।
-शारदा थापा
नेपाली कांग्रेसले भिमेश्वर नगरपालिकाको उपप्रमुखमा शारदा थापालाई अघि सारेको छ । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहेर पनि उनले कुनै राजनीतिक भूमिका पाएकी थिइन । महिला नेतृ थापा सामाजिक क्षेत्रमा लोकप्रिय छिन् ।
जिरी नगरपालिका
-सोनाम शेर्पा
नेपाली कांग्रेसले सामाजिक रुपमा लोकप्रिय नेता सोनाम लामालाई जिरी नगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएको छ ।
राजनीतिका अलवा उनी व्यापार व्यवसायमा आवद्ध छन् । शेर्पा उद्योग बाणिज्य संघ दोलखाको प्रथम उपाध्यक्ष हुन। तरुण दलबाट राजनीति थालेका शेर्पा हाल पार्टीको कार्यबहाक नगर सभापति हुन ।
-लिलामाया जिरेल
जिरी नगरपालिकामा नेपाली कांग्रेसले लिलामायाँ जिरेललाई उपप्रमुख उम्मेदवार तय गरेको छ ।
उनी सामाजिक संघ संस्था र महिला सञ्जालमा सक्रिय छिन् ।
रामेछाप
मन्थली नगरपालिका
-बिनोद कार्की
रामेछापको मन्थली नगरपालिकाको प्रमुख पदको उम्मेद्वारमा नेपाली कांग्रेसले विनोद कार्कीलाई अघि सारेको छ ।
कार्की विद्यार्थी कालमा नेवि संघमा सक्रिय थिए।
उनि पार्टीको क्षेत्रीय सभापति हुन। कार्कीले प्रहरीको जागिर छोडेर राजनीतिमा आएका हुन ।
-गंगा अधिकारी
गंगा अधिकारीलाई नेपाली कांग्रेसले मन्थली नगरपालिकामा उपप्रमुख बनाएको छ । उनले नेपाल विद्यार्थी संघको राजनीतिबाट आफूलाई स्थापित गरेका हुन।
हाल उनि पार्टीको महासमिति सदस्य र महिला संघको जिल्ला अध्यक्ष छिन् ।
उनले स्नाकोत्तरसम्मको अध्ययन गरेका छिन् ।
रामेछाप नगरपालिका
-नरबहादुर थापा मगर
नरबहादुर थापा मगरलाई नेपाली कांगे्रसले रामेछाप नगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएको छ ।
मगरले २०३६ सालबाट नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै नेपाली कांग्रेसमा सक्रियता बढाएको हो ।
थापामागर पार्टीको रामेछाप जिल्ला कार्यसमिति सदस्य, दुई पटक महाधिवेशन प्रतिनिधि र पार्टीको भातृ संगठन राष्ट्रिय मगर संघको केन्द्रीय सदस्यको जिम्मेवारी पनि वहन गरिसकेका छन् ।
थापमागर सुकुम्बासी आयोगको रामेछाप जिल्लाका उपाध्यक्ष समेत रहेका थिए साथै स्थानीय सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षका रूपमा सक्रिय छन् । द्वन्द्वकालमा माओवादीले उनको सम्पत्ति कब्जा गरेपछि केही समय विस्थापित रहेका थिए ।
-सिर्जना खड्का
रामेछाप नगरपालिकामा नेपाली कांग्रेसले सिर्जना खड्कालाई उपप्रमुख उम्मेदवार बनाएको छ । उनि नेवि संघको सक्रिय राजनीति गर्नुका साथै पार्टीको जिल्ला सदस्यको समेत जिम्मेवारीमा रहेर काम गरेकी छिन् । खड्का सामाजशास्त्र र कानूनकी विद्यार्थी हुन् ।
सिन्धुली
कमलामाई नगरपालिका
-उपेन्द्र पोखरेल
नेपाली कांग्रेसले सिन्धुलीको कमलामाई नगरपालिकामा उपेन्द्र पेखरेललाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।
उनले नेपाल विद्यार्थी संघको जिल्ला सदस्य, जिल्ला सचिव हुदै पार्टीको जिल्ला सदस्य ,सचिवको र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी निर्वाह गरिसकेका छन् । हाल पार्टीको महासमिति सदस्य छन् ।
पोखरेल २०५४ सालको स्थानीय निर्वाचनमा वडा नम्बर ५ को वडाध्यक्ष भएका थिए ।
-सुशीला थिंङ
सिन्धुलीको कमलामाई नगरपालिकामा नेपाली कांग्रेसले सुशीला थिंङलाई उपप्रमुखको उम्मेदवारमा चयन गरेको छ ।
उनि सिन्धुली बहुमुखी क्याम्समा ने वि संघको तर्फबाट कोषाध्यक्ष निर्वाचित थिइन। उनको शिक्षक संघ र महिला संघमा पनि उत्तिकै सक्रियता थियो । उनि १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र हाल महासमिति सदस्य हुन । जिल्लामा महिला सचेतना कार्यक्रमा सक्रिय छिन् ।
दुधौली नगरपालिका
-गंगा दाहाल
सिन्धुलीको दुधौली नगरपालिकामा नेपाली कांग्रेसले गंगा दाहाललाई प्रमुख पदकोे उम्मेदवार बनाएको छ ।
२०५७ सालमा नेपाली कांग्रेसमा आवद्ध दाहाल त्यसयता पार्टीका सम्पूर्ण गतिविधिमा सक्रिय रहदै आएकी छिन् । दाहाल महिला संघको जिल्ला अध्यक्षदेखि पार्टीको दुई पटक महाधिवेशन प्रतिनिधि रहेकी छिन् । उनि महिला मानव अधिकार सञ्जाल सिन्धुलीको अध्यक्ष र लोकतान्त्रिक एकता महासंघ सिन्धुलीको अध्यक्ष छिन् ।
-चेतनारायण दनुवार अधिकारी
दुधौली नगरपालिकामा नेपाली कांग्रेसले चेतनारायण दनुवार अधिकारीलाई उपप्रमुख उम्मेदवार बनाएको छ ।
अधिकारीले आर आर क्याम्पस जनकपुरबाट नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेका थिए । उनि सिर्थौली गाउँ इकाई समितिको दुई कार्यकाल सभापति भएका व्यक्ति हुन।