२१ फागुन, काठमाडौं । नेपालको भ्रमण गरेर स्पेन फर्किएका एक नागरिकको कोभिड नाइन्टिन अर्थात कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

उनको फेब्रुअरी १३ मा भ्यालेन्सिया अस्पताल मृत्यु भएको डेली मेलले लेखेको छ । उनको मृत्युको कारण खोज्न वृहत अनुसन्धान गर्ने क्रममा उनी नेपाल भ्रमणबाट फर्किएको पाइएको समाचारमा उल्लेख छ । यद्यपी स्पेनका अधिकारीहरुले ती पर्यटकलाई नेपाल छँदै संक्रमण भएको थियो या नेपालबाट फर्किसकेपछि संक्रमण भएको थियो भन्ने जानकारी दिएका छैनन् ।

कोरोना संक्रमित भएको भेटिएपछि ती नागरिकलाई स्पेनको भ्यालेन्सिया अस्पतालमा राखिएको थियो । यो नै कोरोना भाइरसका कारण स्पेनमा मानिसले ज्यान गुमाएको पहिलो घटना हो । नेपाल घुमेर गएका भनिएका ती व्यक्तिमा शुरुमा निमोनिया देखिएको थियो । तर त्यो निमोनियाको प्रकार स्वास्थ्य अधिकारीहरुले नै पत्ता लगाउन सकेका थिएनन् । स्पेनमा १ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।