२२ पुस, काठमाडौं । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले देशका पश्चिमी भू्–भागहरुमा सामान्य देखि पूर्ण बदली हुने भएको छ । बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार राति देशको पश्चिमी भू–भागमा पूर्ण बदली, मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । त्यसैगरी पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पूर्वी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको संभावना छ ।

पछिल्लो केहीदिनदेखि नघटेको काठमाडौंको तापक्रम बुधबार बिहान घट्नसक्ने देखिएको छ । मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस रहेको मौसमविद् बरुण पौडेलले बताए । मंगलबार र बुधबार वर्षा र हिमपातको संभावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।