१२ चैत, एजेन्सी । प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी भएपछि पाकिस्तान सरकार पनि लकडाउनको मनस्थितिमा पुगेको छ । पाकिस्तानी मिडियाका अनुसार कोरोनाको जोखिम कम गनै भन्दै सरकारले सबै आन्तरिक यात्रुबाहक हवाई उडान स्थगन गरेको छ ।
पाकिस्तानी नागरिक उड्डयन अधिकारीहरुका अनुसार हवाई उडानमाथिको प्रतिबन्ध बिहीबारदेखि लागू हुनेछ । पाकिस्तानले यसअघि नै रेलसेवा र अन्तर्राष्ट्रिय हवाई उडान रोकिसकेको छ । प्रारम्भमा, पाकिस्तानमा भेटिएका सबैजसो संक्रमित व्यक्तिहरु इरानबाट फर्किएका व्यक्तिहरु थिए । मध्यपूर्वका मुलुकमध्ये सबैभन्दा बढी प्रभावित इरान भएको छ ।
त्यहाँ मंगलबार एकै दिन १२२ जनाको मृत्यु भएको थियो । हालसम्म इरानमा १ हजार ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने २४ हजार ८०० भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ ।