११ असोज, काठमाडौं । कप्तान पारस खड्काका उत्कृष्ट ब्याटिङले नेपाल सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको दोश्रो खेलमा विजयी भएको छ ।

सिंगापुरको इंडियन एसोसियन खेलमैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको हो । १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालका लगि पारस खड्का एक्लैले १ सय ६ रन बनाए । ५२ बलको सामना गरेका उनले ७ चौका र ९ छक्का प्रहार गरे । आरिफ शेख ३९ रन बनाएर नटआउट रहँदा ओपनर इशान पाण्डे ५ रनमा आउट भए । बलिङतर्फ सिंगापुरका जकन प्रकशले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । टिम डेभिडले ६४ रनको महत्वपूर्ण पारी खेले । बलिङतर्फ नेपालका करण केसीले दुई विकेट लिए भने सन्दीपले एक विकेट हात पारे ।

शुक्रबार भएको पहिलो खेलमा जिम्बाबेसँग हार बेहोरेको नेपालले दोश्रो खेल आफ्नो पक्षमा पारेको छ । अब नेपालले मंगलबार र बुधबार क्रमशः जिम्बावे र सिंगापुरसँग नेपालले प्रतिष्पर्धा गर्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनलमा भिड्नेछन् ।

सिनियर टोलीको प्रतिष्पर्धामा नेपालले अहिलेसम्म जिम्बावेलाई हराउन सकेको छैन । त्यसैले यो प्रतियोगिता नेपालको लागि चुनौतीपूर्ण हुनेछ । नेपाल सिंगापुरको खेल सकेर पाँच देश सम्मिलित प्रतियोगिता खेल्न ओमन जानेछ ।