२८ बैशाख, काठमाडौं ।
पहिलो चरणको स्थानीय तह चुनावका लागि आज रातिदेखि मौन अवधि सुरु हुने भएपछि प्रमुख दलका शीर्ष नेताहरु पनि अन्तिम प्रचार–प्रसारमा जुट्दैछन् ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संगै चितवन गएका छन् । प्रचण्ड र देउवा जहाजको अन्तिम सिटमा बसेर चितवन गएका हुन् ।

प्रचण्ड र देउवा चुनावी प्रचारमा चितवन गएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आजै चितवन पुगेका छन् । चितवनको भरतपुरमा हुने काँग्रेस–माओवादीको संयुक्त सभालाई प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाले सम्बोधन गर्नेछन् भने एमालेको सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
काँग्रेस–माओवादीले भरतपुर केन्द्रीय बस टर्मिनलको खुल्लाचौरमा र एमालेले नारायणगढमा आमसभा गर्न लागेका हुन् । आमसभा अघि दुवै पक्षले महानगरका सबै वडाबाट -याली निकाल्ने तयारी गरेका छन् ।
काँग्रेस–माओवादी तालमेल रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहाल उमेद्बार बनेकी छन् । चितवनबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले आजै काठमाडौंको नागार्जुन र किर्तिपुर नगरपालिकाको चुनावी सभालाई पनि सम्बोधन गर्नेछन् ।
काँग्रेस सभापति देउवाले आजै लमजुङको सुन्दरबजार नगरपालिका र काठमाडौंका असन तथा बुढानिलकण्ठको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।