१५ मंसिर, काठमाडौँ।
सङ्घीय समावेशी मधेसी गठबन्धनले सरकारले अब प्रधानमन्त्रीको नेतृत्वमा मधेस आन्दोलनका सबै सरोकार भएकाहरुसँग समन्वय गरेर वार्ता गरी समाधान खोज्न सुझाएको छ ।
रिपोर्टर्स क्लबद्वारा आज आयोजित अन्तक्र्रियामा गठबन्धनका नेताहरुले राज्य र आन्दोलनमा देखिएका अतिवादीले मुलुकमा झनै अन्योल सिर्जना गरेकाले त्यसको अन्त्य तथा दीर्घकालीन समाधानका लागि सरकारले सबैसँग वार्ता गर्नुपर्नेमा नेताहरुले जोड दिएका थिए ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले मधेसको समस्या देशको भएकाले देशभित्रैबाट समस्याको समाधान खोज्नुपर्ने बताउँदै मधेस आन्दोलनविरुद्ध चुरे भावरलाई प्रयोग गरिएको घटनाले साम्प्रदायिकता बढ्ने चिन्ता व्यक्त गरे। उनले मधेसका २२ जिल्लामा ३९ प्रतिशत पर्वते, ३८ प्रतिशत मधेसी, १२ प्रतिशत थारु र १० प्रतिशत मुसलमान रहेकाले ‘मधेसीका लागि मधेस प्रदेश’ मात्रै भन्ने कुरा गलत भएको बताए ।
तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले समस्या समाधानमा प्रमुख नेताहरु गम्भीर नदेखिएको बताउँदै अहिले पूरा गर्न सकिने माग सम्बोधन गरी बाँकी मागमा छलफल गर्दै अघि बढ्नुपर्ने सुझाव दिए ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसको अधिकारका लागि आन्दोलन दुई दशकअघिदेखि नै चलिरहेको बताउँदै सम्भव भएका विषयलाई वैज्ञानिक ढङ्गले अविलम्ब सम्बोधन गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलन परिणाममुखी होस् र राज्यलाई पनि समस्या समाधानमा सजिलो होस् भनेर आफूहरुले गठबन्धन निर्माण गरेको जानकारी दिँदै प्रमुख दलका नेताहरुसहित आन्दोलनरत दलका नेताहरुलाई पनि आफूहरुको अवधारणाको विषयमा जानकारी गराइने बताए । रासस