काठमाडौं, ६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई निर्वाचित गरेकी छिन् ।

बुधबार संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा २४५ को उपधारा २ बमोजिम निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त नियुक्त गरेकी हुन् । त्यस्तै सोही दिन संसदीय सुनुवाईबाट अनुमोदित राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझालाई पनि राष्ट्रपतिले नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त

राष्ट्रपति भण्डारीले शुक्रबारै सर्वोच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्त गरेकी छिन् । संसदीय सुनुवाई समितिले बिहीबार अनुमोदन गरेका सबैलाई राष्ट्रपतिले नियुक्त गरेकी हुन् । प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मालाई राष्ट्रपतिले सर्वोच्चको न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।