८ असोज, काठमाडौं । चिनियाँ ह्याकरले नेपाली बैंकका एटीएम ह्याक गरेको एक महिना नबित्दै कृषि विकास बैंक ह्याकरको निशानामा परेको छ ।
प्रहरी बेलैमा चनाखो हुनाले कृषि विकास बैंकको झण्डै ५ अर्व रुपैयाँ चोर्ने योजना प्रहरीले असफल पारिदिएको छ । ह्याकरको योजना समयमै थाहा पाएको प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । यसअघि प्रहरी चनाखो हुनाले चिनियाँ ह्याकर पक्राउ गर्दा झण्डै २ करोड रकम जोगिएको थियो ।

ह्याकरको समूहले भारतमा बसेर नेपालका व्यक्तिलाई सम्पर्क गरी विभिन्न बैंकबाट रकम चोरी गर्ने योजना बनाएको प्रारम्भीक अनुसन्धानले देखाएको छ। महानगररीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरि भइसकेको जानकारी दिए। कृषि विकास बैंकबाट चोरिएको १२ लाख रुपैयाँ नयाँ बानेश्वरस्थित पानस रेमिटबाट निकालेको अवस्थामा प्रहरीले बरामद गरेको छ।
यो प्रकरणमा कृषि विकास बैंकमा हयाक गर्न सघाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा पत्रकार सम्मलेन गरेर प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्र बहादुर बुढा रहेका छन्। जसमध्ये बुधबार प्रहरीले चारजनालाई मात्रै सार्वजनिक गरेको छ।