२२ पुस, एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा १६ डिसेम्बर २०१२ मा भएको निर्भया बलात्कारपछिको हत्याको घटनामा संलग्न चार दोषीहरुलाई मृत्युदण्ड दिने मिति आज तय गरिएको छ । पटियाला हाउस अदालतले मृत्युदण्डको लागि २२ जनवरी २०२० को मिति बिहान ७ बजेको समय तोकेको हो ।
जबकी उनीहरुले १४ दिनभित्र मृत्युदण्डको फैसलाविरुद्ध अपिल गर्न सक्नेछन् । निर्भयाकी आमाले पटियाला हाउस अदालतमा चारैजना दोषीहरुलाई छिटोभन्दा छिटो मृत्युदण्डको मिति घोषणा गर्न अपिल गरेकी थिइन् । सामूहिक बलात्कारपछि हत्याको आरोपमा अदालतले अक्षय, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई यसअघि नै दोषी ठहर गरिसकेको थियो ।
अदालतमा उपस्थित बरिष्ठ पत्रकार सुचित्र मोहंतीका अनुसार अदालतले भिडियो कन्फ्रेन्रेन्समार्फत दोषीहरुको बयान सुनिएको थियो । त्यो समयमा मिडियालाई कन्फ्रेरेन्स रुममा जान दिइएको थिएन । दोषीहरुको वकिल ए.पी. सिंहले पटियाला गृह अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा अपिल गर्ने बताएका छन् ।

निर्भयाकी आमा आशादेवी ७ वर्षदेखि दोषीलाई सजाय होस् भन्दै कुरिरहेको बताइन् । उनले भनिन्, ‘मेरी छोरीले न्याय पाइन् । चारैजना दोषीलाई फासी पाएपछि देशका महिलाहरुमा ताकत मिल्नेछ । यो फैसलाबाट मानिसहरुमा न्यायपालिकाप्रतिको विश्वास अझ बलियो भएको छ ।’
यसअघि डिसेम्बरमा सर्वोच्च अदालतमा न्यायाधीस आर भानुमतिको अध्यक्षताको तीन सदस्यीय समितिले एक दोषी अक्षय कुमारको पुनर्विचारको अपिललाई खारेज गरिदिएको थियो । अपिल खारेज गर्दै अदालतले भनेको थियो, ‘हामी दोषी साबित भइसकेका अक्षय कुमारको अपिल खारेज गर्छौं । उनको अपिलमा फेरि विचार गर्नुपर्ने केहीपनि छैन ।’ यो समूहमा भानुमतिको साथमा न्यायधीस अशोक भुषण र ए.एस. बोपन्ना पनि थिए ।
१३ सेप्टेम्बर २०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गर्यो । आरोपी मध्येका राम सिंहले २०१३ मै तिहाड जेलमा आत्महत्या गरेका थिए भने एक नाबालकलाई बालसुधार गृहमा पठाइएको छ । राम सिंहले चलाउने बसमा १६ डिसेम्भर २०१२ मा निर्भयामाथि बलात्कार भएको थियो । सामूहिक बलात्कारमा परेकी निर्भयाको केही दिनपछि मृत्यु भएको थियो ।