१२ भदौ, काठमाडौं । डेढ महिनादेखि बढिरहेको सुनको मूल्य आज पनि बढेको छ । बुधबार यथावत रहेको सुनको मूल्य बिहीबार ८ सय रुपैयाँ प्रतितोलाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार ७२ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको छापावाल सुनको मूल्य बिहीबार ८ सय रुपैयाँले बढेर ७३ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको छ । यसअघि सोमबार सुनको मूल्य ७३ हजार ५ सय पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीमा प्रतितोला १५ रुपैयाँ बढेर ८ सय ९५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ नै बढेर ७३ हजार १ सय पुगेको छ । बुधार तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार ३ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको सुनको मूल्यले स्थानीय बजारलाई दबाबमा राखेको हो । अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि प्रभावित भएको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

सुनको मूल्यमा उतारचढाव देखिएपछि सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०÷२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ ।